
क्रेजी संवाददाता
पथरी । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएन्टो) मोरङको दोस्रो ऐतिहासिक जिल्ला परिषद् पथरीमा सम्पन्न भएको छ ।
पथरी बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार भएको परिषद् भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले पानसमा बत्ती बालेर र विशिष्ट अतिथि नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव दीननाथ (डि.एन.) तिम्सिनाले ब्यानर वाचन गरेर संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा युएन्टोका प्रदेश १ का इन्चार्ज एवम् विशिष्ट अतिथि कुलप्रसाद खतिवडा, पार्टी पथरी नगर इन्चार्ज डि.एन.तिम्सिना, माओवादी पार्टी मोरङ जिल्ला संयोजक एवम् अतिथि गणेशप्रसाद उप्रेती ‘सुशील’, शिक्षक महासङ्घ मोरङ जिल्ला सहअध्यक्ष एवम् अतिथि राजेशप्रसाद यादवले मन्तव्य राख्नुभएको थियो । जिल्लामा युएन्टोमा आबद्ध हुने शिक्षककर्मचारीको सङ्ख्या बढिरहेको अवस्थामा तिनको पेसागत हकहितका मुद्दालाई सङ्गठनले अझ गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्ने जिम्मेवारी बढेको कुरा विशिष्ट अतिथि दिननाथ तिम्सिनाले बताउनुभयो ।
सो अवसरमा नेकपा समाजवादीका जिल्ला उपाध्यक्ष एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राई, नेकपा समाजवादीकै पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकाललगायतले पनि शुभकामना मन्तव्य राख्नुभयो । मोरङ जिल्लाका सबै पालिकाबाट शिक्षक प्रतिनिधि सहभागी भएको सो भेलामा प्रदेश सांसद् कुलप्रसाद साँवा, पार्टी प्रदेश सदस्य तथा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पार्टी प्रदेश कमिटी सदस्य खेमप्रसाद भट्टराई ‘दीपक’, सङ्गठनका पूर्वअध्यक्षहरू शिवप्रसाद तिम्सिना, मोहन खनाल लगायतका अतिथिहरूको उपस्थिति थियो । ‘पेसागत दक्षता, विचारमा स्पष्टता, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ भएको उक्त परिषद् भेलाको उद्घाटन (खुला) सत्रको सभापतित्व युएन्टोको जिल्ला अध्यक्ष मेघराज दङ्गालले गर्नुभयो ।
परिषद् भेलाले शम्भु राजवंशीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष राम थापा, महिला उपाध्यक्ष इन्दिरा गौतम (नेपाल) र उपाध्यक्षहरूमा रत्नबहादुर तामाङ, फौदराज खड्का, रामकुमार भट्टराई, सञ्जय शर्मा र हस्तबहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ । यसै गरी नवगठित समितिको सचिवमा बुद्धिनाथ अधिकारी, अर्थ सहसचिव मोतीबहादुर सिन्चौरी, सहसचिवत्रयमा सन्तोष पोखरेल, रुद्रप्रसाद पोखरेल र नवराज दाहाल चयन हुनुभयो ।
यस्तै सदस्यहरूमा डिल्लीप्रसाद खतिवडा, अर्जुन थपलिया, अर्चना ढुङ्गेल, बुद्धकला सुवेदी, राधिका बराइली, भोलानाथ पाण्डे, भूमिका मगर, गोविन्दप्रसाद निरौला, तुलसी भट्टराई, अम्बिका लुइटेल, ज्ञानबहादुर थेबे, नारद सुवेदी, रामऔतार शर्मा, शिवराज विष्ट, मनोज राजवंशी, कवीन्द्र राई लगायतका सदस्य चयन हुनुभएको नवनिर्वाचित समितिका सचिव बुद्धिनाथ अधिकारीले जानकारी दिनुभयो ।

