
न्युजिल्याण्ड पहिलो पटक आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी सातौ संस्करणको टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो ।
न्युजिल्याण्डले अब उपाधिका लागि पाकिस्तान र अष्ट्रेलिया बीचको विजेतासँग खेल्नेछ । अबुधाबीमा डार्यल मिचेलले अविजित ७२ रन बनाएपछि १६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो । ओपनर मिचेलले ४७ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै डेभोन कानवेले ४६, जेम्स निसामले ११ बलमा २७ रन बनाए । इंग्ल्याण्डका क्रिस वोक्स र लियम लिभिङस्टोनले २–२ तथा आदिल रासिदले १ विकेट लिए । त्यसअघि टस हारे पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
इङ्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै डेविड मलानाले ४१ रन जोडे । न्युजिल्याण्डका टिम साउथी, एडम मिल्न, इश सोधी र जेम्स निसमले १–१ विकेट लिए ।


