
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसका कारण गत वर्षबाट सारिएका केहि बाँकी योजनाहरु मध्ये ३ वटाको आइतबार अनुगमन गरी सुझाव समेत दिइएको छ ।
नगर उपप्रमुख एवम योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले रजतजयन्ती मार्गको वडा नम्बर ५ मा पर्ने जयनगर होलीमा नगरपालिकाको १६ लाख ८७ हजार ३ सय ४१ रुपैयाँको लागतमा ६ मिटर लम्बाई, ७ मिटर चौडाई र ३ मिटर उचाई रहेको कल्भर्ट निर्माण सम्पन्न भएको योजनाको अनुगमन गरेको छ ।
यस्तै, १६ लाख २७ हजार ३ सय ५१ रुपैयाँको लागतमा वडा नम्बर ९ स्थित शनिश्चरे स्वास्थ्य चौकी जाने अपुरो कालोपत्रे सडकको कालोपत्रे पुरा गर्ने कामको अनुगमन् गरिएको छ । जसको स्टिमेटमा ३ सय १० मिटर लम्बाई, ५ मिटर चौडाई र २ सेन्टिमिटर मोटाई रहेको भएपनि केहि ठाउँमा चौडाई र मोटाई केहि नपुगेको पाइएको तथा पूर्णगुणस्तर समेत नपुगेको अवस्था रहेको पाइएको छ । अनुगमन समितिको बैठक बसी सो बारेमा निर्माण कम्पनी पवित्रा निर्माण सेवालाई पत्राचार गर्ने निर्णय गरिएको छ ।
वडा नम्बर ६ मा कुँडामरिया बक्राहा खोलामा अधुरो पुल निर्माण कार्यको अनुगमन्का क्रममा सो योजनाको अघिल्लो वर्षदेखिको सम्पूर्ण जानकारी लिएर अध्ययनका लागि कार्यपालिका बैठकमा छलफल गर्ने निर्णय गरिएको संयोजक वास्तोलाले बताउनुभयो ।

