
क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सि.टी. फुटबल क्लब र तुर्केनी फुटबल क्लब काँकडभिट्टा बीच भिडन्त हुनेभएको छ ।
फाक्तेपस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलबाट बुधबार मोरङको पथरी स्पोटिङ क्लबलाई हराउँदै धरान सि.टी. फाइनल प्रवेश गरेको हो । यस्तै विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको जलथल फुटबल क्लबलाई १–६ को विशाल गोल अन्तरले स्तब्ध पार्दै काँकडभिट्टा फाइनल प्रवेश गरेको हो । फाइनल भोलि (शनिबार) दिउँसो २ बजेबाट सुरु हुनेछ ।
यो फुटबल प्रतियोगिता गोल्डकप इतिहासकै एक नमूना हुनेभएको छ । समापन समारोहमा मुख्य मन्त्री राजेन्द्र राईलाई बाजागाजा सहित फाक्तेप खेल मैदानमा लग्ने आयोजकले तयारी गरेसँगै फाक्तेप गोल्डकप ऐतिहासिक हुने निश्चित भएको छ ।
आयोजक फाक्तेप फुटबल क्लबले समापन समारोहको प्रमुख अतिथिका लागि आमन्त्रण गरेको प्रदेश १ का मुख्य मन्त्रीलाई फाक्तेपका युवाहरुको टिमले तामझामका साथ डुडामारीदेखि स्कटिङ सहित बाजागाजाका साथ खेल मैदान लग्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
मुख्यमन्त्री आउने निश्चित भएसँगै फाक्तेपका युवाहरु थप उत्साहित भएका छन् । प्रथम पटक आयोजना गरेको गोल्डकपमा दर्शकको उल्लेख्य सहभागिताका साथ योगेश गुरुङ, कर्ण लिम्बु सहित तीन विदेशी खेलाडीहरुको समेत सहभागिताले उत्साहित भएका युवाहरुमा समापन समारोहमा मुख्य मन्त्री आउने निश्चित भएपछि थप उत्साहित भएका हुन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तैगरी म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु. ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु. ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले २ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

