
स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।
अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २–० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे ।
बार्सिलोना यसअघि सन् २०००–२००१ मा समूह चरणबाटै बाहिरिएको थियो । बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो ।
६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो भयो । अर्को स्पानिस क्लब सेभिया पनि समूह चरणबाटै बाहिरिएको छ । समूह जीअन्तर्गत अन्तिम खेलमा साल्जवर्गसँग १–० ले पराजित भएपछि सेभिया शीर्ष दुईमा पर्न सकेन ।
फ्रेन्च क्लब लिल र साल्जवर्ग यस समूहबाट अन्तिम १६ मा प्रवेश गरेका छन् । स्पेनबाट रियल मड्रिड र एट्लेटिको मड्रिड अन्तिम १६ मा पुगेका छन् । यसैगरी माल्मोलाई १–० ले पराजित गर्दै इटालियन क्लब युभेन्ट्स समूह एच को विजेता बनेको छ । जेनिथ सेन्ट पिटर्सवर्गसँग ३–३ को बराबरी खेलेको चेल्सी समूह उपविजेता बन्यो ।


