
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि सहज जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । बिबिसीमाथि सहज जित निकालेको संकटाले लिग वरियतामा सुधार गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत एक तर्फी जस्तो प्रदर्शन गरेको संकटालाई जित दिलाउन उत्तम राईले उत्कृष्ट प्रदर्शन गरे । उत्तमले टोलीका लािग दुई गोल गरे । यस्तै लक्ष्मण रुचालले एक गोल थप्दै संकटालाई सहज दिलाउन सफल भए ।
दशरथ रंगशालामा संकटाले पहिलो हाफमा निकालेको तीन गोलको अग्रता जितका लागि पर्याप्त भएको थियो । सुरुआतबाट नै दबाब दिएर खेलेको संकटाले खेलको १३ औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । जोर्डन जुनियरको पासमा उत्तमले हेडमार्फत उत्कृष्ट गोल गरेर टोलीको लागि खाता खोलेका थिए । २८ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । फोडे फोफानाको पासमा उत्तमले पेनाल्टी क्षेत्रबाट सहजै गोल गरेका थिए ।
त्यसपछि खेलको ३८ औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए । ब्रिगेडका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लक्ष्मणले सहज गोल गर्न सफल भएका थिए । त्यसपछि बाँकी समयमा दुबै तर्फबाट थप गोल हुन सकेन र संकटाले पहिलो हाफमा निकालेको अग्रता नै स्पष्ट अंक जोड्न निर्णायक बन्यो ।

