जावलाखेलको लगातार दोस्रो जित - Crazysaptahik.com

जावलाखेलको लगातार दोस्रो जित

जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले ललितपुरे प्रतिद्वन्दी सातदोबाटो युथ क्लबलाई २–० ले हरायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा गोलका खासे अवसर बनाउन सकेनन्।दोस्रो हाफमा भने जावलाखेलले दुई गोल गरे ।

५०औं मिनेटमा ओङवाना जुनियरको क्रसमा विपिन कँडेलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । सुरज ज्यु ठकुरीको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका विपिनले सातदोबाटोका पासाङ लामाले क्लियर गर्न नसकेका बल गोल गरेका थिए।

यस्तै ७०औं मिनेटमा निकोलस फर्नान्डेजले रुप बहादुर लामाको पासमा करीब २५ यार्डबाट गोल गर्दै अग्रता दोब्बर पारे । जावालाखेलका ओङगुना जुनियरको दुई प्रहार पोष्टमा लागेर फर्किँदा अग्रता बढाउने अवसर गुमाएको थियो ।

सुरुवाती तीन खेल हारेपछि चौथो खेलमा ब्रिगेडसंग बराबरी खेल्दै पहिलो अंक जोडेको जावलाखेलले दोस्रो जितपछि ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।

जावलाखेलले यसअघि च्यासल युथ क्लबलाई पराजित गरेको थियो।नवप्रवेशी सातदोबाटोको भने शीर्ष डिभिजनमा यो दोस्रो हार हो। ६ खेलबाट ८ अंकसहित सातदोबाटो पाँचौ स्थानमै यथावत छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.