नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब - Crazysaptahik.com

नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब

काठमाडौं– सुरुवाती अग्रता जोगाउन नसक्दा विभागीय त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दा एपिएफका विक्की तामाङले गोल फर्काए । खेलको दोस्रो मिनेटमा नविन लामाको फ्रिकिकलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए । पाचौ मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्स बाहिरको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले दोस्रो प्रयासमा नियन्त्रणामा लिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

नवौं मिनेटमा कप्तान भरत खवासको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक युयाले पञ्च गर्दै बचाए । १३औं मिनेटमा जगजित श्रेष्ठको क्रस पासमा जर्जप्रिन्स कार्कीले नियन्त्रणा लिदै गरेको प्रहारलाई सविन थापाले क्लियर गर्दै एपिएफको संकट टारे । २०औं मिनेटमा जगजित श्रेष्ठको कर्नरका जर्जप्रिन्स कार्कीको डाइभिङ हेडर दोस्रो बार च्याप्दै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

३८औं मिनेटमा आशिष लामाको वान भर्सेस वानको प्रहार गोलरक्षक विकेशलाई लाग्दै पोस्टतर्फ अघि बढ्दा युद्ध शाहीले बचाए । ५८औं मिनेटमा नविन लामाको प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाए । ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले ५ डिफेन्डरबीचबाट गरेको प्रहार डिफेन्डर राजन गुरुङलाई लाग्दै गोलमा परिणत हुँदा गोलरक्षक युयाले बचाउन सकेनन् ।

६६औं मिनेटमा विक्की तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । नविन लामाको प्रहारलाई गोलरक्षक विकेथले नियन्त्रणमा लिन नसकेको बललाई विक्कीले जाली चुमाए । ८३औं मिनेटमा विवेक बस्नेतको क्रसलाई गोलरक्षक युयाले नियन्त्रणमा लिन नसकेको बललाई जर्ज प्रिन्स कार्कीले दुई प्रयास गरेपनि सदुपयोग हुन नसक्दा आर्मी अग्रता लिनबाट चुक्यो ।

यो बराबरीले अंक तालिकामा कुनै फेरबदल भएन । आर्मी ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ७ खेलबाट एपिएफ ६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

आर्मीको यो पाँचौ बराबरी हो । यसअघि आर्मीले पुलिस, मछिन्द्र, सातदोबाटो र थ्री स्टारसँग बराबरी खेलेको थियो । आर्मीले च्यासल र ब्रिगेड ब्वाइजलाई मात्रै हराउन सकेको छ । एपिएफको यो तेस्रो बराबरी हो । यसअघि एपिएफले थ्री स्टार र एनआरटीसँग बराबरी खेलेको छ । लिगमा फ्रेन्ड्सलाई पराजित गर्दा बिबिसी, च्यासल र सातदोबाटोसँग हार बेहोरेको छ ।

 

  • स्रोत– हाम्रो खेलकुद

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.