मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का - Crazysaptahik.com

मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को साघुरो गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो ।

त्रिपुरेश्वरमा अवस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

खेलको २१ औं मिनेटमा विशाल राईको फ्रिकिकमा ‘अनमार्क’ रहेका सुनिलले गरेको हेडले जाली चुमेको थियो । जारी लिगमा सुनिलको यो पाँचौं गोल हो ।

लिग च्याम्पियनले एएफसी कप खेल्नुपर्ने भएपनि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको थियो ।

अघिल्लो सिजन च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप क्वालिफायर खेल्ने अवसर गुमाएको थियो । यसपटक भने मछिन्द्रसँगै आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । यी चार क्लबमध्येमा अगाडि रहँदै मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो ।

अर्को दाबेदार मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो । बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.