
शहीद स्मारक ए डिभिजन लिगमा यसपटक सर्वाधिक गोल गर्ने खेलाडीले हाइएस्ट स्कोरर अवार्ड स्वरुप गोल्डेन बुट प्राप्त गर्नेछन् । अखिल नेपाल फुटबल संघले डेढ दशकपछि पुनः सर्वाधिक गोलकर्तालाई अवार्ड दिन लागेको हो ।
यसअघि विधागत उत्कृष्टलाई अवार्ड दिँदै आएको एन्फाले यसपटक भने अवार्डको स्वरुपमा केही परिवर्तन गर्दै विश्व फुटबलमा चलेको ट्रेण्डअनुसार नै मोस्ट भ्यालुएबल प्लेअर, हाइएस्ट स्कोरर, बेस्ट गोलकिपर र इमर्जिङ प्लेअरलाई अवार्ड दिने जनाएको छ ।
१४ क्लब सहभागी लिगमा अहिलेसम्म आधाभन्दा बढी खेल सकिसकेको छ । त्यसमा सर्वाधिक गोल गर्ने होडमा साविक विजेता मछिन्द्र फुटबल क्लबका सुनिल बल अघि छन् । गत सिजन च्यासल युथ क्लबबाट खेलेका राष्ट्रिय टिमका खेलाडी सुनिल यसै सिजन मछिन्द्र आएका हुन् ।

उनै सुनिल बलले ७ खेल खेल्दै ५ गोल गरिसकेका छन् । उनी अहिलेसम्म सर्वाधिक गोल गर्नेमा एकल रुपमा शीर्ष स्थानमा छन् । लिगको पहिलो खेलमै एनआरटीविरुद्ध २–१ को जितमा दुवै गोल गरेका सुनिल यस सिजन उत्कृष्ट लयमा छन् ।
त्यसपछि उनले तीन खेलमा गोल गरे । हिमालयन शेर्पा विरुद्ध ३–० को जितमा एक गोल गरेका सुनिलले मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब विरुद्ध १–० को जितमा निर्णायक गोल गरे ।
उनले मछिन्द्रको ५ जितमध्ये ३ जितमा निर्णायक गोल नै गरेका छन् । उनले ६ खेलमा पहिलो रोजाईँमा खेल्दा पाँच खेल पूरा समय मैदानमा बिताए भने एक खेलमा सब्सिच्यूट भएका थिए ।
यस्तै एक खेलमा भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । सुनिल बलपछि सर्वाधिक गोल गर्नेमा सातदोबाटो युथ क्लबका विदेशी खेलाडी अजयी मार्टिन्स र एपीएफ फुटबल क्लबका आशिष लामा छन् ।
दुवैले समान ४ गोल गरेका छन् । त्यसपछि तीन गोल गर्नेमा धेरै खेलाडी छन् । मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्ट, नेपाल पुलिसका सुमन लामा, संकटाका निरज बस्नेत र उत्तम राई, हिमालयन शेर्पाका पिस्टोन मुटुम्बा, जावलाखेलका निकोलस फर्नान्डेज, च्यासलका रुमेश बर्तौला, एपीएफका बिके तामाङ, एनआरटीका मेसुके ओलोमोउ छन् ।


