
गोलकिपर डेभिड डि गेयाको उत्कृष्ट प्रदर्शनको मद्दतले म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–१ को सहज जीत हासिल गरेको छ । पहिलो हाफमा निरश प्रदर्शन गरेको युनाइटेडलाई डि गेयाले उत्कृष्ट प्रदर्शन गर्दै गोल खानबाट जोगाएका थिए । दोस्रो हाफमा भने राल्फ रागनिगको टोलीले सुधारिएको प्रदर्शन गर्दै ब्रेन्टफोर्डमाथि हाबी बनेको थियो ।
युवा खेलाडी एन्थोनी इलांगाले युनाइटेडलाई ५५ औँ मिनेटमा अग्रता दिलाए भने मेसन ग्रिनवुडले अग्रता दोब्बर बनाए । ७७ औँ मिनेटमा मार्कस राफोर्डले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर इभान टोलीले ब्रेन्टफोर्डका लागि सान्तवना गोल फर्काए । खेल सकिन २० मिनेट बाँकी छँदा नै आफूलाई सब्सिटिच्युट गरिएकोमा क्रिस्टियानो रोनाल्डो रुष्ट बनेका थिए ।

जीतपछि युनाइटेडको २१ खेलबाट ३५ अंक रहेको छ र लिगको सातौँ स्थानमा रहेको छ । अर्को खेलमा इन्जुरी समयमा दुई गोल गर्दै टोटनहम हटस्पर्सले लेस्टरबिरुद्ध ३–२ गोलको रोमाञ्चक जीत हासिल गरेको छ । ९० मिनेटपछि पनि १–२ गोलले पछि परेको स्थितिमा खेलको इन्जुरीमा समयमा स्टेभन बर्गविनले दुई गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएका हुन् ।
यसअघि पेटसन डाकाले लेस्टरलाई अग्रता दिलाए पनि ह्यारी केनले खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ७६ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाएका थिए । जीतपछि स्पर्स १९ खेलबाट ३६ अंक बटुल्दै लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।


