इन्जुरी समयमा दुई गोल गर्दै एथ्लेटिको म्याड्रिडले ला लिगामा भ्यालेन्सियाबिरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको आफ्नो घरेलु मैदानमा ३–२ गोलले विजयी भएको हो ।
युनुस मुसाह र ह्युगो डुरोले पहिलो हाफमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोको कर्नरमा गोल गर्दै माथेयस कुन्हाले एथ्लेटिकोका लागि एक गोल फर्काए ।
दोस्रो हाफमा खेलमा नियन्त्रण बनाए पनि निर्धारित समयसम्म एथ्लेटिकोले कुनै गोल गर्न सकेन । हारतर्फ अघि बढिरहँदा इन्जुरी समयमा एन्जेल कोरेया र मारियो हरमोसोले गोल गर्दै एथ्लेटिकोको पुनरागमन पुरा गरे ।
जीतपछि २१ खेलबाट ३६ अङ्क बटुल्दै एथ्लेटिको लिगको चौथो स्थानमा रहेको छ । भ्यालेन्सिया २२ खेलबाट २९ अङ्कसहित लिगको नवौँ स्थानमा रहेको छ ।



