न्यायिक समितिद्वारा पालिकाहरूको न्यायिक अवलोकन भ्रमण - Crazysaptahik.com

न्यायिक समितिद्वारा पालिकाहरूको न्यायिक अवलोकन भ्रमण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरको न्यायिक समितिले न्याय सम्पादनका आफ्ना गतिविधि थप प्रभावकारी बनाउने उद्देश्यले ३ वटा पालिकाको न्यायिक अध्ययन अवलोकन भ्रमण गरेको छ ।

मकवानपुरको हेटौडा उपमहानगर उपप्रमुख मिनाकुमारी लामा, गोरखा नगर उपप्रमुख विनाकुमारी श्रेष्ठ र पाल्पाको तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे सहित न्यायिक समितिसँग न्याय सम्पादनका विषयमा छलफल भएको थियो ।

पाल्पामा कानून व्यवसायीहरु गीता शर्मा, पवित्रा खनाल सहितसँग समेत छलफल गरिएको थियो । अवलोकन भ्रमण टोलीले न्यायका लागि इतिहास कायम गरेको गोरखास्थित राम साहको प्रतिमा र ‘राम साह चौतारो’को पनि अवलोकन गरेको छ । हेटौंडा नगर प्रमुख हरिबहादुर महतसँग पनि छुट्टै भेटघाट भएको छ ।

नगर उपप्रमुख एवम न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको न्यायिक समितिको टोलीले न्याय सम्पादनका तरिका तथा समस्याहरु सवैतिर उस्तै उस्तै नै भेटिएको भएपनि न्यायिक समितिका लागि बजेटमा अझ प्राथमिकता दिनुपर्ने, भवन तथा इजलास र कर्मचारीको व्यवस्थापनमा जोड दिनुपर्ने देखेको छ ।

नगर उपप्रमुख बास्तोलाले सवै पालिकामा न्याय सम्पादनको प्रभावकारिता र विश्वसनियता पाइएको उल्लेख गर्नुभयो । उहाँले पथरी शनिश्चरेले भवनको अभावमा विना इजलास कक्ष तथा कर्मचारी व्यवस्थापनको समस्या खेपेर पनि प्रदेशमै सवैभन्दा बढी उजुरीहरु मेलमिलाप गराउन सफल भएको जानकारी गराउनु भयो । साथै आर्थिक वर्ष ०७७÷०७८ मा सरकारको स्वमूल्यांकनमा समितिले शत प्रतिशत अंक प्राप्त गरी उत्कृष्ठता हाँसिल गर्न सफल भएको समेत सुनाउनु भयो ।

टोलीमा, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, पर्शुराम न्यौपाने, उजुरी प्रशासक विश्वमणि निरौला, नगर सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना र महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलको सहभागिता रहेको थियो । समितिले गत वर्ष खोटाङ र उदयपुरका पालिकाहरुको यसैगरी अवलोकन गरेको थियो । नगरले आफ्नो क्षेत्रको वन तथा सिमसारयुक्त पर्यटनको प्राथमिकता उल्लेख गर्दै नगरको पर्यटकीय र ऐतिहासिल महत्वकास्थलहरु समेटेको मायाको चिनो प्रदान गरेको थियो ।

पथरी शनिश्चरेको न्यायिक समितिले ०७४/०७५ मा ३५१ , ०७५/०७६ मा ३६२ र ०७६/०७७ मा ४५५, ०७७/०७८ असार मसान्तसम्म २०४ र ०७८/०७९ पुससम्म ८४ गरी हालसम्म १,४५६ वटा उजुरी मेलमिलाप गरेको छ । वडा मेलमिलाप केन्द्रबाट ०७५/०७६ मा १५१, ०७६/०७७ मा २०४ र ०७७/७८ चैत्र मसान्त सम्म १७५ तथा ०७८ बैशाखदेखि पुससम्ममा १०४ गरी ६३४ उजुरी उपर मेलमिलाप हुन पुगेको छ । यसरी न्यायिक समिति र मेलमिलाप केन्द्रबाट हालसम्म जम्मा २,०९० वटा उजुरीहरु निरुपण गरिएको छ । जसमा ९९.५ प्रतिशत उजुरी न्यायिक समिति र मेलमिलापकर्ताबाट मेलमिलाप गराइएको छ ।

न्याय क्षेत्रमा आम जनताको पहुँच सहज पुगोस् भन्ने उद्देश्यका साथ नेपालको संविधान २०७२ को धारा २१७ को दफा १ र २ साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४६ देखि ५३ सम्मले दिएको अधिकार प्रयोग गर्दै मिति २०७४ श्रावण १५ मा पथरी शनिश्चरे नगरपालिकामा न्यायिक समिति गठन भएको थियो ।

समितिले दर्ता भएका उजुरीहरूको सहज र सरल तरिकाले गाउँ टोल बाटै न्याय दिलाउनका लागि २०७५ पुस २४ गते सबै वडामा मेलमिलापकर्ताहरूको प्रशिक्षणबाट नगरभित्रका १० वटै वडामा मेलमिलापकर्ताहरूको गठन साथै पुनर्ताजगिका तालिमहरु प्रदान गरिदै आएको छ । न्यायिक समितिले वडा वडामा ‘सार्वजनिक गुनासो सुनुवाई’ कार्यक्रम समेत सञ्चालन गरेको छ । न्यायिक समितिलाई १३ प्रकारका मुद्दाहरु हेर्ने क्षेत्राधिकार दिइएको छ ।

सम्बन्धित खवर