क्रेजी संवाददाता
पथरी । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरीमा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ हुनेभएको छ ।
आज पथरीको सुम्मिनमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । पथरीशनिश्चरे फुटबल प्रिमियर लिग समितिको आयोजनामा हुने सो प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउँनेछन् ।
जसअन्तर्गत वाईजीएफटी एफ.सी., देविगन्ज एफ.सी, शिखर एफ.सी., सिरिजंघा एफ.सी., १० नवोदय, न्यू स्टार एफ.सी., द रियल ब्रदर्श रहेका छन् भने नयाँ क्लबको रुपमा वाई.एफ.सी. ले इन्ट्री गरेको छ ।
पत्रकार सम्मेलनमा ८ वटै क्लबका अनरहरु उमेश राई, सागर भट्टराई, नविन ढकाल, विरेन साम्बा, मिलन श्रेष्ठ, सरोज लिम्बु, आइतराज राई, विरोज मगरको उपस्थितिमा ग्रुप ‘ए’ र ‘बी’ विभाजन गरिएको थियो । ग्रुप ‘ए’मा वाईजीएफटी, शिखर, १० नवोदय र वाई.एफ.सी. रहेका छन् भने ग्रुप ‘बी’मा देविगन्ज, सिरिजंघा, न्यू स्टार र द रियल ब्रदर्श रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लबलाई तयारीका लागि नगद रु. ३५ हजारका दरले रकम प्रदान गरिने आयोजकका उपाध्यक्ष बिक्की राईले जानकारी गराए ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ शीर्षक राखिएको यस प्रतियोगिताको सबै खेलहरु पथरीशनिश्चरे–१ को जाँतेमोडमा अवस्थित खेल मैदानमा हुने आयोजकका संयोजक संजिव गिरीले जानकारी दिए ।