एलपीएलमा एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित - Crazysaptahik.com

एलपीएलमा एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालय स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन् । यो उनीहरूको लगातार दोस्रो जित हो । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गरे ।

खेलमा सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट क्षतिमा भेट्टायो । एभरेस्ट एकेडेमीको लागि रितिक थापाले सर्वाधिक ४२ रन बनाए । ३६ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। यस्तै कृष ऐरले अविजित २९ रन बनाए ।

रितिक र कृषले पाँचौ विकेटको लागि अविजित ६० रनको साझेदारी गरे । सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले एक÷एक विकेट लिए । टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १०३ रन बनाएको थियो । उसका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए ।

एभरेस्ट एकेडेमीका बलर गोविन्द विष्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दिपक रोकायाले समान दुई विकेट र कृष ऐरले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच गोविन्द विष्ट घोषित भए । दिनको दोस्रो खेलमा सत्यवती एकेडेमीले विद्याभूषण पब्लिक स्कुललाई ४ विकेटले पराजित ग¥यो । विद्याभूषणले दिएको १२२ रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेट्टायो ।

सत्यवतीका लागि अन्डर–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए । ३० बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै सुजन गौतमले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए । आदिल अन्सारीले १८ रन योगदान दिए ।

विद्याभूषणको बलिङमा कप्तान शेर मल्लले दुई विकेट तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको विद्याभूषणले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए ।

अन्डर–१९ राष्ट्रिय क्रिकेटर अर्जुन साउदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके । सरस्वती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लिंदा आदिल अन्सारी, निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए ।प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा विहान साढे ९ बजे होलिल्याण्ड र शारदा सरस्वती स्कुल तथा दिनको दोस्रो खेलमा दिउँसो साढे १ बजे लिटल फ्लावर र स्टेपिङ स्टोन स्कुल प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.