क्रेजी संवाददाता
अमदह । दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले अमरदह ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
मोरङको सुनवर्षी २ अमरदहमा आज भएको गोल्डकपको फाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० झिनो गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधि उचालेको हो । उपाधीसँगै नगद रु. ५ लाख ११ हजार रुपैयाँ प्राप्त गरेको हो ।
जितका लागि मानेभञ्ज्याङका राज राउतले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । प्रतियोगितामा उपविजेता बनेको त्रिभुवन आर्मी फुटबल क्लबले नगद रु. २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच विजयी मानेभञ्ज्याङ भेट्रान क्लब दार्जिलिङका राज राउत घोषित हँुदै नगद ५ हजार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको अन्य विधातर्फ सर्वोत्कृष्ट खेलाडी विजेता टिमका समिर प्रधान, उत्कृष्ट डिफेन्स उपविजेता टोलीका युद्ध शाही, उत्कृष्ट गोलरक्षक विजेता मानेभञ्ज्याङका उर्गेन पिन्सो शेर्पा, हाइ स्कोरर त्रिभुवन आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २१ हजार रुपैयाँ प्राप्त गरे भने अन्य विधागत पुरस्कार राशी १६ हजार रुपैयाँ रहेको थियो ।
फाइनल खेलमा पूर्व रक्षामन्त्री तथा मोरङ क्षेत्र नं. २ सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आत्थिय रहेको थियो । खेलमा रौनकता बढाउनका लागि विभिन्न जातजातिको झाँकीका साथै अमरदहका विद्यालयहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।