जडेजाको अलराउण्ड प्रदर्शनमा भारत इनिङ्स र २२२ रनले विजयी - Crazysaptahik.com

जडेजाको अलराउण्ड प्रदर्शनमा भारत इनिङ्स र २२२ रनले विजयी

रवीन्द्र जडेजाले सानदार अलराउण्ड प्रदर्शन गरेपछि भारतले श्रीलंकालाई पहिलो टेष्टमा इनिङ्स र २२२ रनले पराजित गरेको छ ।  ब्याटिङमा अविजित १७५ रन बनाएका जडेजाले बलिङमा कूल ९ विकेट लिएपछि भारतले तेस्रो दिनमै जित हात पारेको हो ।

जितपछि भारतले दुई खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । मोहालीस्थित पञ्जाब क्रिकेट एसोसिएसन ग्राउण्डमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ५७४ रन बनाएको थियो ।

त्यसपछि श्रीलंकाले दुई इनिङ्स ब्याटिङ गर्दा पनि ३५२ रन मात्र बनाउन सक्यो । श्रीलंकाले १०८÷४ को स्थितिबाट तेस्रो दिनको खेल सुरु गरेको थियो । तर जडेजाले उत्कृष्ट बलिङ गरेपछि श्रीलंका पहिलो इनिङ्समा १७४ रनमा अलआउट भयो ।

पथुम निशान्कले अविजित ६१ रन बनाउनुबाहेक अन्य श्रीलंकाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भारतका लागि जडेजाले १३ ओभरमा ४ मेडन राख्दै ४१ रन खर्चेर ५ विकेट लिए ।

जसप्रित बुमराह र रविचन्द्रन श्विनले २–२ र मोहम्मद सामीले १ विकेट लिए । पहिलो इनिङ्समा अलआउट भएपछि फलो अनमा परेको श्रीलंकाले तेस्रो दिनमै दोस्रो इनिङ्समा पनि १७८ रनमा अलआउट भयो ।

दोस्रो इनिङ्समा श्रीलंकाका लागि विकेटकिपर निरोसान डिकवेलाले अविजित ५१ रन बनाए । भारतका लागि जडेजाले १६ ओभरमा ५ मेडन राख्दै ४६ रन खर्चेर ४ विकेट लिए । यस्तै अश्विनले पनि ४ विकेट लिए भने शामीले २ विकेट लिए ।

त्यसअघि भारतले जडेजाको अविजित १७५ रन मद्दतमा ८ विकेट गुमाउँदै ५७४ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । यस्तै ऋषभ पन्तले ९६ र हनुमा विहारीले ५८ रन बनाएका थिए । जडेजा प्लेअर अफ दि म्याच घोषित भए । दोस्रो टेष्ट आगामी शनिबार सुरु हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.