
थाइल्याण्डको राष्ट्रिय टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।
अघिल्लो महिना मरिसससँगको मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर विशाल राई तथा फरवार्डहरू विमल घर्तीमगर र सुनिल बललाई यसपल्ट टिममा राखिएको छैन ।
विशाल हालै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक हुन् भने सुनील सर्वोत्कृष्ट खेलाडी हुन् । नेपालले थाइल्याण्डको चोङबुरीमा थाई राष्ट्रिय टोलीसँग चैत १० गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
चैत १३ गते थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोङबुरी एफसीसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले आगामी जुन महिनामा हुने एएफसी कप छनोट तेस्रो चरणको तयारी गरिरहेको छ ।
छनोट प्रतियोगिताको समूह ए मा नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एएफसी कपको तयारीमा रहेका कारण यसपल्ट राष्ट्रिय टोलीमा मछिन्द्रका खेलाडीलाई समावेश गरिएको छैन ।
ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले चैत २२ गते एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग खेल्दैछ । त्यो खेल जितेमा चैत २९ गते भारतको मोहन बगान एफसीसँग खेल्नुपर्नेछ ।
नेपाली टिम
किरणकुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, एरिक विष्ट, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपर्कोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ ।


