मेक्सिकन क्लब क्वेरेटारोले १ वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने - Crazysaptahik.com

मेक्सिकन क्लब क्वेरेटारोले १ वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने

मेक्सिकोको घरेलु फुटबल लिगा एमएक्स क्लब क्वेरेटारोलाई एक वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने गरी प्रतिबन्ध लगाइएको छ । गत शनिबार एटलास एफसीसँगको खेलका क्रममा क्वेरेटारोका समर्थकले हिंसात्मक व्यवहार गरेपछि क्लबलाई दोषी ठहर गरिएको लिग व्यवस्थापनले जनाएको छ ।

यो घटनामा कम्तीमा २६ जना घाइते भएको आधिकारिक जानकारी छ । तीमध्ये तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । ‘हामी समर्थकको भेषमा रहेका अपराधीहरुलाई स्वीकार्न सक्दैनौं,’ लिगा एमएक्सले भनेको छ ।

क्वेरेटारो रंगशालामा उपस्थित समर्थकहरु मैदानमै प्रवेश गरी हात हालाहालमा उत्रिएपछि यो खेल ६३ मिनेटपछि रद्ध गरिएको थियो । घटनामा पीडित समर्थकहरुको सम्मानमा भोलिपल्ट आइतबारका सबै खेल स्थगित गरिएको थियो ।

मंगलबार लिगका अध्यक्ष मिकेल एरियोलाले हिंसात्मक घटनाका लागि समर्थकको एउटा संगठित समूहलाई जिम्मेवार मानेका छन् ।एक वर्षसम्म समर्थकको उपस्थितिविना घरेलु खेल खेल्नेमात्र होइन क्वेरेटारोले खेल्ने कुनै पनि अवे खेलमा ३ वर्षसम्म समर्थकले प्रवेश पाउने छैनन् ।यो घटनालाई विश्व फुटबलको नियामक निकाय फिफाले समेत निन्दनीय भनेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.