
पाहुना टोली सिक्किमको रेडपाण्डा फुटबल क्लबलाई पराजित गर्दै घरेलु टोली झापा–११ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै झापा ११ अन्तिम चारमा प्रवेश गरेको हो ।
झापा–११ को जितका लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । एक गोल आत्मघाती भएको थियो । रेडपान्डाले एक गोल फर्कायो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे ।
सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई लडाएपछि झापाले पेनाल्टी पाएको थियो । ५५औँ रेडपाण्डाले आत्मघाती गोल गर्यो । खेलको ५८औँ मिनेटमा कप्तान विशाल राई बीले झापाका लागि तेस्रो गोल गरे ।
७७ औँ मिनेटमा विमल घर्तीमगरले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे । ६०औँ मिनेटमा विमलको पेनाल्टी प्रहार भने सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले रोकेका थिए । ६६औँ मिनेटमा सिक्किमका लागि पेनाल्टीमार्फत योगेश मगरले गोल गरे ।
खेलको ८९औँ मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै झापालाई ५–१ को अवस्थामा पुर्याए । योसँगै झापा गोल्ड कपको क्वार्टरफाइनलको समीकरणका खेल पूरा भएको छ ।


