
बेलायत सरकारले चेल्सीका मालिक रोमन अब्राहिमोभिचमाथि प्रतिबन्ध लगाएपछिको पहिलो खेलमा चेल्सीले प्रिमियर लिगमा नर्विचलाई ३–१ ले पराजित गरेको छ । युक्रेनमाथि रुसको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको भनिएको अब्राहिमोभिच संकटमा छन् ।
प्रतिबन्धपछि चेल्सीले नयाँ खेलाडी किन्न, अनुबन्ध थप्न र टिकट बेच्न पाउँदैन । नर्विचको क्यारो रोडमा खेल हुनु अघि बेलायत सरकारले अब्राहिमोभिचलाई प्रतिबन्ध लगाएको थियो । तर खेलमा भने चेल्सीले नतिजा ल्याउन सफल भयो ।
चेल्सीका लागि ट्रेभो चालोबाहले तेस्रो र मासोन माउन्टले १४औं मिनेटमा गोल गरेपछि सुरुमै दुई गोलको अग्रता बनाएको थियो । ६९औं मिनेटमा नर्विचका टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए ।
तर ९०औं मिनेटमा काइ हाभार्टले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए । यो जितपछि २७ खेलबाट ५६ अंक जोडेर चेल्सी तेस्रो स्थानमा छ । यस हारपछि नर्विचलाई भने रेलिगेसनको दबाब अझ बढेको छ ।
नर्विच २७ खेलबाट १७ अंक जोडेर पुछारमा छ । लिगको अन्य खेलमा वल्भ्सले वाटफोर्टलाई ४–० ले, एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३–० ले र न्युसकाल युनाइटेडले साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।


