मालिंगा राजस्थान रोयल्सको फास्ट बलिङ प्रशिक्षक नियुक्त - Crazysaptahik.com

मालिंगा राजस्थान रोयल्सको फास्ट बलिङ प्रशिक्षक नियुक्त

इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणका लागि राजस्थान रोयल्सले लासिथ मालिंगालाई फास्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ ।सन् २०२१ मा सन्यास लिएका मालिंगा आईपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

उनले मुम्बई इन्डियन्सका लागि ९ सिजन खेल्दै १७० विकेट लिएका छन् । साथै सन् २०१८ मा मालिंगाले मुम्बईको बलिङ मेन्टरको भूमिका निभाएका थिए । यसै वर्षको सुरुमा अष्ट्रेलिया विरुद्धको टी–२० श्रृंखलाका लागि मालिंगा बलिङ रणनीति प्रशिक्षक नियुक्त भएका थिए ।

मालिंगाले आईपीएलमा पर्कन पाउँदा खुशी लागेको बताएका छन् । ‘आईपीएलमा फर्कनु मेरो लागि राम्रो हो र राजस्थान रोयल्समा सामेल हुन पाउनु पूर्ण सम्मानको कुरा हो, जसले सधैं युवा प्रतिभालाई प्रवर्द्धन र विकास गरेको छ,’ मालिंगाले भने ।

‘हाम्रो तीव्र गतिको बलिङ युनिटबाट म उत्साहित छु र सबै फास्ट बलरहरूलाई उनीहरूको खेल–योजनाहरू कार्यान्वयन गर्न र उनीहरूको समग्र विकासमा सहयोग गर्न तत्पर छु । मैले मुम्बईसँग आईपीएलमा केही विशेष सम्झनाहरू बनाएको छु ।

र अब रोयल्ससँग नयाँ अनुभवको लागि पर्खिरहेको छु ।’ यस्तै राजस्थानले ‘टिम क्याटालिस्ट’ को रुपमा प्याड्डी अप्टनलाई नियुक्त गरेको छ । अप्टनले सन् २०१३ देखि २०१५ सम्म र २०१९ मा राजस्थानको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

टिम क्याटालिस्टको रुपमा अप्टनको काम सबैलाई एकजुट बनाउने र बायो बबलमा रहँदा सबैको मानसिक अवस्थाको बारेमा हेर्ने रहेको राजस्थानले विज्ञप्तिमा जनाएको छ । राजस्थानका मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टरको रुपमा रहेका कुमार सांगाकारले मालिंगा र अप्टन दुवै उत्कृष्ट रहेको बताएका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.