
इम्पोलीबिरुद्ध १–० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औँ स्थानमा छ । गत राति नै भएको अर्को खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३–१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो ।
भ्रमणकारी टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे । एक गोल उपहार पायो । साम्पडोरीयाका माया योसिदाले आत्मघाती गोल गरे । जितसँगै युभेन्ट्स २९ खेलबाट ५६ अंक सहित चौथो स्थानमा छ ।


