
क्रेजी संवाददाता
पथरी । शान्ति चौकले पथरीशनिश्चरे वडा नं. २ टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पथरीको पञ्चायत माविको खेल मैदानमा शुक्रबार भएको फाइनलमा शान्ति चौकले आयोजक बुद्ध चौकलाई ४–६ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
शान्ति चौकलाई जित दिलाउन मदन राईले ४ गोल र शंकर राईले २ गोल गरे । बुद्ध चौकका तर्फबाट राकेश राईले १ गोल, संजोग चाम्लिङले १, पेनाल्टी मार्फत् विक्की राईले १ गोल र खेलको अन्त्यतिर टिका तामाङले १ गोल फर्काए ।

विजेता टिमलाई ट्रफीका साथमा ६० केजीको कालो बंगुर, उपविजेतालाई ट्रफीको साथमा ४० केजीको कालो बंगुर प्रदान गरिएको थियो । खेलको म्यान अफ दी म्याच एवं हाई स्कोरर विजेता टिमका मदन राई घोषित भए । प्रतियोगितामा सहभागी टिमहरूलाई २ वटा फुटबल र एक क्रेट अण्डा प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. २ का अध्यक्ष एवं नगरका प्रवक्ता यामप्रसाद गुरागाई र क्लबका अध्यक्ष नैना राईले संयुक्त रुपमा प्रदान गरेका थिए ।

