पथरीशनिश्चरे नगरपालिकाकोे उपमेयरमा दर्जन बढी आकांक्षी - Crazysaptahik.com

पथरीशनिश्चरे नगरपालिकाकोे उपमेयरमा दर्जन बढी आकांक्षी

  • सन्तोष राई
    पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपमेयरका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र ‘लबिइङ’ गरिरहेका छन् ।

प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट समेत गरी कम्तीमा दर्जन बढीको नाम सम्भावित उपमेयर उम्मेद्वारको रुपमा नगरमा चर्चा छ ।

नेकपा एमालेले पथरीशनिश्चरे नगरमा यस पटकको चुनावमा मुख्यतः भौगोलिक स्थिति, समुदाय सन्तुलन र नयाँ/पुरानाको सन्तुलन अवस्थिति मिलाएर उम्मेद्वारी दिइने एमाले निकट स्रोतको दाबी छ ।

गत वर्षको चुनावमा उपमेयर पद जितेको नेकपा एमालेबाट यस पटक उपप्रमुखमा दुर्गादेवी दंगाल, देविमाया काफ्ले, निर्मला गदाल, रुकमिणि बजगाई र रिता डाँगी थपलिया उम्मेद्वारको आकांक्षी रहेको बुझिएको छ । दंगाल, काफ्ले र गदाल जिल्ला कमिटी सदस्य, बजगाई नगर कमिटी उपसचिव र थपलिया समाजसेवी एवं शिक्षिका हुन् ।

पथरीशनिश्चरे नगरमा गत निर्वाचनमा एक स्वतन्त्र सहित ४ वटा वडा जितेको नेपाली कांग्रेसले उपमेयरमा हार व्यहोरेको थियो । यस पटकको चुनावमा भने कांग्रेसले एक्लै निर्वाचन लड्नुपरेमा उपप्रमुखमा गत वर्षको चुनावताका उपमेयरको उम्मेद्वार प्रेमला राई, कविता पराजुली, बिना राई र राधा संग्रौला मध्ये एक जनालाई टिकट दिलाउने कांग्रेस वृत्तमा चर्चा छ ।

हाल पार्टीमा प्रेमला राई क्षेत्रीय प्रतिनिधि, कविता पराजुली र बिना राई केन्द्रीय महाधिवेशन प्रतिनिधि, राधा संग्रौला प्रदेश सह–सचिव हुन् ।

यस्तैगरी अघिल्लो निर्वाचनमा पथरीशनिश्चरे वडा नं. ४ मा प्यानल र वडा नं. १० मा एक सदस्य जितेको माओवादी केन्द्र समग्रमा नगरमा तेस्रो दलको रुपमा स्थापित छ ।

अघिल्लो निर्वाचनमा वडा नं. ४ मा अध्यक्ष जितेका गोविन्द भण्डारीले मेयर नभए उपमेयरको आकांक्षी रहेको बताउँदै आएका छन् । यदि एक्लाएक्लै निर्वाचन लड्नुपर्ने अवस्था आएमा नगरको उपमेयर पदमा प्रदेश समिति सदस्य रन्जु कट्वाल, सहिद परिवार रिता गिरी, नगर कोषाध्यक्ष/ वाईसीएल केन्द्रीय सदस्य अनु राई र राधिका गौतमको चर्चा रहेको छ ।

यस्तै उपमेयर पदकै आंकांक्षीमा नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट पथरीशनिश्चरेमा ‘फेक्ट डिसिजन’ आएको छैन । गठबन्धन भएमा आफ्नो भागमा के भाग लाग्छ त्यसैमा दाबेदारी रहने बुझिएको छ ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन भए सोही अनुसार अघि बढ्ने यदि नभएमा मात्र उपमेयर पदमा उठाउने स्रोतले बतायो ।

पथरीशनिश्चरे नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका)का तर्फबाट भने उपमेयर पदमा परिस्थिति हेरेर उम्मेद्वारी दिइने एक स्रोतले बतायो । अहिले राप्रपा पथरीशनिश्चरेको वडाहरुमा उम्मेद्वार छनौट कार्यलाई अघि बढाइरहेको बुझिएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही वैशाख ९ गते पथरी आउने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

नगरमा उपमेयर पदको उम्मेद्वार यही साताभित्र टुङ्गो लाग्ने प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

सम्बन्धित खवर