
क्रेजी संवाददाता
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सरुवा भएका प्रहरी निरीक्षक राजाराम खड्काको उर्लाबारी नगरपालिकाले विदाई गरेको छ ।
नगरपालिकाले मंगलबार एक कार्यक्रम गरी प्रनि खड्काको विदाई गरिएको हो सो अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीको नेतृत्व सम्हालेर एक वर्षसम्म बस्दा प्रनि खड्काले कुशल कार्य गरेको भन्दै नगर प्रमुख खड्ग फागोले प्रसंसा गरे ।
यो अवधिमा शान्ति सुरक्षा मजबुद भएकै कारण खासै अप्रिय घटना नभएको उनको भनाई थियो । यस्तै, नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले कुशल नेतृत्वकर्ताको जहाँ, जहिले पनि सम्मान हुने बताउँदै प्रनि खड्काले उर्लाबारीमा रहँदा गरेका कार्य स्मरणीय रहने बताइन् ।
विदाई ग्रहण गर्दै प्रहरी निरीक्षक राजाराम खड्काले एक वर्षसम्म उर्लाबारीमा रहँदा यहाँका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख र जनताको माया र साथ पाएको बताए । सबैको साथ सहयोगले समाजमा शान्तिसुरक्षा कायम हुने बताउँदै उनले उर्लाबारीमा रहँदा आफूलाई स्थानीय वासिन्दाको भरपुर सहयोग प्राप्त भएको जनाए ।
नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारीमा क्रियाशील राजनीतिक दलका प्रमुखहरु, वडाध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

