भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित न्यू पेगोडा माध्यमिक विद्यालयले यस वर्षको २०७८ एसईई दिने विद्यार्र्थीलाई विदाई तथा शुभकामना प्रदान गरेको छ ।
बुधबार विद्यालय हातामा आयोजना गरेको विदाई तथा शुभकामना मन्तव्य प्रिन्सिपल उद्धव निरौला र शिक्षकका तर्फबाट पुण्य पौडेलले राखेका थिए ।
यस्तै कक्षा–९ कि छात्रा दिलशा तिम्सिनाले विदाई दिने तर्फबाट शुभकामना मन्तव्य राखेकी थिइन् भने विदाई ग्रहण गर्नेतर्फ कक्षा–१० छात्र युगलकिशोर अधिकारीले सारगर्मित मन्तव्य राखेका थिए । सोही कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक टिकाप्रसाद दंगालले ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ दिने उद्घोष गरे ।
कार्यक्रमको सभाअध्यक्ष टिकाप्रसाद दंगालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन दुर्गा सुवेदी दंगालले गर्नुभएको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको न्यू पेगोडाले यसै वर्षबाट व्यवस्थापन संकायमा कम्प्युटर विषय पढाई हुने जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा सबै विद्यार्थीहरुले फ्रेमिङ (नेपालको नक्सा) गरेको फोटो मायाको चिनो स्वरुप विद्यालयलाई प्रदान गरेका थिए ।