
ग्राबियल जिसुसले ह्याट्रिकसहित चार गोल गर्दा प्रिमियर लिग फुटबलमा शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डमाथि ५–१ गोलको फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा जिसुसले ह्याट्रिक सहित चार गोल पूरा गरे ।
खेलको चौथो मिनेटमा गोल गर्दै जिसुसले सिटीलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा जिसुसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । २८औँ मिनेटमा वाट्फोर्डका लागि हसान कामराले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए ।
३४औँ मिनेटमा सिटीका लागि रोर्डीले गोल गर्दै टिमको अग्रता ३–१ गोलको बनाए । पहिलो हाफमा ३–१ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ४९औँ मिनेटमा जिसुसले पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे ।
५३औँ मिनेटमा जिसुसले चौथो गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । जितसँगै सिटीले ३३ खेलबाट ८० अंक जोडेको छ । सिटी तालिकाको शीर्ष स्थानमा छ । पराजित वाट्फोर्ड २२ अंकसहित रेलिगेसनमा छ ।


