दोस्रो लेगमा भिल्लारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो ।
तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । लिभरपुलले समग्रमा ५–२ को जित निकाल्यो ।
यसअघि भएको पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो ।
४१ औं मिनेटमा फ्रान्सी कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । तर, ६१ औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो ।७४ औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे । लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ । फाइनल खेल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।