विराटनगर । प्रदेश १ मा आसन्न स्थानीय तहको चुनावका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सबै त यारी पूरा भएको हो ।
मतपत्र, स्वस्तिक छापलगायत सबै सामाग्री जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत पालिकाका मतदान केन्द्रमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कुल १३७ वटै पालिका रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थल रहेका छन् । प्रदेशमा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १९ हजार कर्मचारी मतदान स्थलमा पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश १ मा कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् । १ महानगर २ उपमहानगर ४५ नगरपालिका र ८९ गाउँपालिका रहेको प्रदेश १ मा कुल १ हजार ५७ वडा रहेका छन् । स्थानीय तहको निर्वाचनबाट प्रदेशभरी ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रदेश १ मा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ ।
निर्वाचनको पहिलो घेरामा रहने नेपाली प्रहरीको संख्या भने १० हजार ५५१ जना प्रहरी मैदानमा खटिएका छन् । नेपाल प्रहरी बाहेक निर्वाचनका लागि थप १७ हजार ३८२ म्यादी प्रहरी पनि परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
नेपाल प्रहरी र म्यादी प्रहरीको टोली सबै मतदान केन्द्र र मतदान स्थलमा परिचालित भइरहेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी उपरीक्षक नविनराज राईले बताए । प्रदेशका ३२१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषणका आधारमा त्यहाँ थप सुरक्षा तैनाथी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणको आधारमा अनुसार प्रदेशभरी रहेका कुल ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदान स्थलमध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।
प्रदेशमा ८४९ वटा संवेदनशील र ७०७ वटा सामान्य मतदान स्थल छन् । अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गरिनेछ । ३ प्रहरी ८ म्यादी मतदान स्थलभित्र रहन्छन् । बाहिरी घेरामा ४५ जना सुरक्षा कर्मचारी परिचालन हुनेछन् । प्रहरीसँग बाहिरी घेरामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि रहनेछ भने हरेक मतदान स्थलमा १५ देखि २० मिनेटमा पुग्ने गरी थप सुरक्षाकर्मीको टोली रहनेछ ।
सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक मोबाइल, प्रोटेल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर सूचना संकलन गर्नेछ भने कतिपय अवस्थामा हेलिकप्टरबाट गस्ती गर्ने तयारी पनि नेपाली सेनाले गरेको छ ।
–हाम्रोमत