क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पदभारग्रहण, स्वागत तथा निवर्तमान पदाधिकारीहरुको विदाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा, नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्ले सहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५१ जना जनप्रतिनिधिलाई सपथग्रहण गराउनुभयो ।
निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, निवर्तमान उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्नुभयो । नवनिर्वाचित समितिले निवर्तमान पदाधिकारीहरुलाई कदरपत्र प्रदान गरी कामको प्रशंसा गरेको छ ।
निवर्तमान नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले आफुहरुको अगुवाईको कार्यकालमा थालिएका महत्वका कामहरुले अवको समितिबाट पनि निरन्तरता पाओस् भन्दै थप योजना सहित नगर समृद्धितर्फ अघि बढाउने शुभकामना व्यक्त गर्नुभयो । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पनि शुभकामना व्यक्त गर्नुभयो ।
नेकपा एमालेका नगर अध्यक्ष रमेश दहाल, नेपाली कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई, माओवादी केन्द्रका नगर उपाध्यक्ष प्रेम ढकाल, राप्रपाका नगर अध्यक्ष हरेन्द्र खत्री, जनता समाजवादी पार्टीका नगर अध्यक्ष फिपराज बेघा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर सचिव बलबहादुर फियाक, नेपाल पत्रकार महासघका जिल्ला उपाध्यक्ष मोहन भट्टराई सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उहाँहरुले निष्पक्ष र पारदर्शी रुपमा नगरका काम कामबाही अघि बढाउने कुरामा आफुहरुको साथ रहने र अन्य अवस्थामा खबरदारी गरिरहने वताउनुभयो ।
नवनिर्वाचित नगर प्रमुख तुम्वापो र उपप्रमुख काफ्लेले सवैको भावनाको कदर गर्दै निष्पक्ष र पारदर्शी रुपमा नगरको काम कारवाही अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँहरुले मंगलबार नै नगरपालिकाको आआफ्नो कार्यकक्षमा पदभार ग्रहण समेत गर्नुभयो ।