धिमाल जातिको जात्री /सिर्जात पर्व समापन - Crazysaptahik.com

धिमाल जातिको जात्री /सिर्जात पर्व समापन

विजय धिमाल
उर्लाबारी । अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्री÷सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी समापन भएको छ ।

जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । असार २ गते उर्लाबारीको मङ्गलबारेमा अवस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन हुने गर्दछ ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजो राज्यको विभेदकारी, नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुबिधाबाट बञ्चित भएको बताएका छन् ।

मोरङको उर्लाबारी– ३ मंगलबारेमा धिमाल जातिको सबैभन्दा ठूलो पर्व जात्री, सिरिजातको समापन गर्दै उनले सो कुरा बताएका हुन् । लोकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने मुख्यमन्त्री राईको भनाइ थियो राईले आरक्षणको व्यवस्था पनि सबै जात जातीलाई अवसरको समान उपयोगका लागि गरिएको उल्लेख गरे । आगामी साउन भित्रमा प्रदेशको नामाकरण हुने राईले बताएका छन्। प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसक्ने बताउँदै उनले प्रदेश सभाले सके सहमतिमा नभए बहुमतका आधारमा भए पनि प्रदेशको नाम राखिने बताए । मुख्यमन्त्री राईले बहुमतका आधारमा राखिएको नाम सबैका लागि उपयुक्त नहुन सक्ने तर्क गरे । तर, अब नाम जुराउन प्रदेश सभाले ढिलो नगर्ने बताए ।

समापन कार्यक्रममा धिमाल जातिको मौलिक नाचगान, ढोल प्रतियोगिता, धिमाल कलाकारहरुको कला र गाला प्रस्फुटन गर्न स्टेजमा मौका लगायतका अवसर दिईन्छ । दुई महिना भित्रमा धिमाल समुदाय बसोबास गर्ने एक सय भन्दा बढी गाउँहरूमा मेला जातिरी÷श्रीजात लाग्ने गर्दछ । दुई महिना सम्ममा धिमाल जाति वा समुदायको प्रत्येक घरबाट कम्तीमा तीस हजार खर्च हुने समग्र समापन सम्ममा करिब डेर करोड खर्च हुनेगरेको केन्द्रीय तथ्यांकले जनाएको छ ।

ग्रामथानमा फलफुल, हाँस, परेवा, कुखुरा, सुँगुरलगायतको बलि दिने गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सामूहिक पूजा जात्री÷श्रीजात नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस्, अतिबृष्टि, अनाबृष्टि, खेतका बालिनानी सप्रियोस र जिवनमा सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मीबेराङ, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गर्ने गरिन्छ ।

नेपालको पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बस्दै आएका छन् । धिमालहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत देख्न सकिन्छ । धिमाललाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सबैभन्दा पहिले घोषणा गरेको हो । त्यस्तै, बेलबारी, उर्लाबारी, पथरीशनिश्चरेले पनि घोषणा गरेको छ ।

समापन कार्यक्रममा धिमाल जाति विकास केन्द्रले प्रत्ये वर्ष प्रदान गरिने युवा प्रतिभा पुरस्कार बडिबिल्डर ललित धिमाललाई प्रदान गरिएको थियो भने विभिन्न धिमाल गाउँटोल समितिबाट सहभागी ढोल मध्ये प्रथम डुम्रेघाट, द्वितीय कालाबन्जार, त्रितीय जम्बुझार र सान्त्वना बाह्रघरे गाउँटोल समिति भएको थियोे ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ मुख्यमन्त्री राजेन्द्रकुमार राई विशिस्ट अतिथिमा प्रदेश सांसद कुलप्रसाद साँवा र अतिथिहरुमा स्थानीय पार्टी नगर अध्यक्ष, विभिन्न संघसंस्था, समाजरेवि, स्थानिय र छिमेकी नगरगका जनप्रतिनिधिहरु रहेका थिए भने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.