क्रेजी संवाददाता
मोरङ । राष्ट्रिय भूूमि आयोगले पूर्वी मोरङका पालिकाका जनप्रतिनिधिहरुसँग मंगलबार भूमि सम्वन्धी समस्या समाधानका विषयमा कानूनी अवस्था, त्यसको प्रक्रिया र भूमिको वस्तुस्थितिका बारेमा छलफल गरेको छ ।
जिल्लाको बेलबारीमा आयोजित कार्यक्रममा नापी विभागका अधिकृत मणि रेग्मीले सहजीकरण गर्दै जिल्ला र पालिकास्तरमा भूमिको समस्या समाधानको कार्ययोजना निर्माण गरेर योजनावद्ध अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले वडा, पालिकादेखि जिल्ला आयोगसम्मको कानूनी चरणवद्ध प्रक्रियाका बारेमा जानकारी गराउनु भयो ।
सो कार्यक्रममा, पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आफ्नो सहित कानेपोखरी लगायतका पालिकाहरुमा पहिले ढालफाँड गरी जोतभोग गर्ने एउटा र त्यसको पछि पूर्जा निकाल्ने अर्काे भएकाले त्यसको छानविन गरी वास्तविक जोतभोग गर्नेलाई पूर्जा वितरण गर्ने प्रक्रिया आयोगले अघि बढाउनु पर्ने बताउनुभयो ।
सुन्दरहरैंचा नगर प्रमुख केदार गुरागाईं, बेलबारी नगर प्रमुख दिलप्रसाद राई, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, रतुवामाई नगर प्रमुख नागेश्वर सिंह तथा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले वास्तविकता पहिचान गरी तल्लोस्तरका जनताको समस्या समाधानमा केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्ला अध्यक्ष सुशीला घिमिरेले पालिकाहरुको सहकार्यमात्रै नभएर वडादेखि पालिकासम्मको सिफारिसमा यथार्थतामा आधारित भएर आयोगले काम गर्ने वताउनुभयो ।
जिल्ला अध्यक्ष घिमिरेले अघिल्ला आयोगको पालामा पुरा हुन वाँकी अधुरा कामको प्रक्रिया अघि बढाउने काम भएको वताउनुभयो । जिल्लाका हाल ८ वटा पालिकाकामा आयोगका ३१ जना प्राविधिकबाट नापी प्रक्रियाको काम अघि बढाएको उल्लेख गर्नुभयो ।