घरेलु टोली जिम्बावेले पहिलो टी–ट्वान्टीमा बंगलादेशलाई १७ रनले हराएको छ । शनिबार भएको खेलमा जिम्बावेले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १८८ रन बनायो । बंगलादेशका लागि कप्तान नुरउल हसनले सर्वाधिक ४२ रनको योगदान गरे ।
त्यस्त नजमल हसन सान्तोले ३७ रन बनाउँदा लिन्टन दासले ३२ रन तथा अनमुलले २६ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि लुक जोङ्ग्वेले दुई तथा रिचार्ड नगर्भा, विलिङ्टन मासाकाट्जा तथा सिकन्दर राजाले समान एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
जिम्बावेका लागि वेस्ले माधेवेरे र सिकन्दर राजाले अर्धशतकीए पारी खेले । माधेवेरेले ६७ रन बनाउँदा राजा ६५ रनमा अविजित रहे । त्यस्तै सेन विलियम्सले ३३ तथा कप्तान क्रेग ईभिन्सले २१ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा मोसाडिक हुसाइनले एक विकेट लिए । यससँगै घरेलु टोलीले ३ खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी आइतबार हुनेछ ।