कीर्तिमान तोड्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार - Crazysaptahik.com

कीर्तिमान तोड्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को एक सय १३ औं बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सो पुरस्कार दिने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई १५ हजार पुरस्कार दिने समेत निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ ।

त्यसैगरी बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरी काम गराउने निर्णय पनि गरेको छ । यस्तै खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने, प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरूले मात्र सम्बन्धित टिममा सहभागी हुनु पर्ने लगायतका निर्णय गरेको छ ।

प्रदेश तथा विभागीय टिमहरूले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराउन समेत निर्देशन गरेको छ । प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरेको छ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने छ ।

यस्तै परिषद्को कर्मचारी सेवा, शर्त सम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ । यस्तै परिषद्को भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरण सम्बन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।

सम्बन्धित खवर