भूमिप्रसाद पाठक,
पथरी, साउन २२ गते । मोरङको पथरी शनिश्चरे नपा वडा नं. ९ स्थायी निवासी पुष्पबहादुर चौहान, ६९वर्षको, हिजो दिँउसो ३ः१० मा दुःखद् निधन भएको छ । वडा नं. ४ स्थित श्री भागीरथ मावि निर्माणको संस्थागत प्रधानाध्यापक वडा नं. ९ स्थित श्री सिंहबाहिनी मावि निर्माणकालको संस्थापक अध्यक्ष र वडा नं. १० स्थित निजी विद्यालय श्री केबी मेमोरियलको संस्थापक निर्देशक दिवंगत चौहान शिक्षा क्षेत्रको विकासमार्फत समाजको समृद्धिउन्मुख रेखा कोर्न चाहने व्यक्तित्व हुनुहुन्थ्यो ।
परिवारमा २ श्रीमती र जायजन्म भएका ३ छोरा र १ छोरी हुनुहुन्छ । पञ्चायती व्यवस्थाअन्तर्गत साविक शनिश्चरे गाविसको उपप्रधानपञ्च समेत रहनुभएका उहाँले समाजका विभिन्न सामुदायिक सरोकारका संघसंस्थाको नेतृत्व गर्नुभएको छ । मूलतः शिक्षा क्षेत्रमा चाहिँ केही गर्नुपर्छ भन्ने ध्याउन्नमा रहने उहाँको असामयिक निधनले शिक्षा जगतमा ठूलो क्षति भएको मेमोरियलका प्रिन्सिपल किशोर खड्काले बताउनुभयो ।
उहाँको सम्मानमा निजी विद्यालयको संस्थाको तर्फबाट जिल्ला सदस्य उपेन्द्र कँडेलले संस्थाको झण्डा ओढाएर श्रद्धा प्रकट गर्नुभएको थियो । नगर अध्यक्ष सुरेन्द्र लिम्बू, सचिव सन्तोष बस्नेत, राजु तिम्सिनालगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
मलामीजनको रूपमा हजारौं शिक्षाप्रेमीको उपस्थितिसँगै उहाँको अन्त्येष्टि कर्म स्थानीय डाँस खोला घाटमा भएको छ । शिक्षा विकासको स्रोतका रूपमा विकसित उहाँको निधनप्रति शोक व्यक्त गर्दै निजी विद्यालयहरू आज एकदिनका लागि बिदामा रहेको शिक्षक नेता कँडेलले बताउनुभयो ।