टेनिस इतिहासकी महान् खेलाडीमध्येकी एक सेरेना विलियम्सले युएस ओपनपछि टेनिसबाट सन्यास लिने संकेत दिएकी छन् । तर, उनले ‘रिटायरमेन्ट’ शब्द मन नपरेको बताएकी छिन् । फेशन म्यागजिन ‘भोग’ मा लेखिएको लेखमा सेरेना विलियम्सले आफू आफ्नो जीवनका अन्य महत्त्वपूर्ण कुराहरूमा अघि बढ्न चाहेको बताएकी छन् ।
सेरेना विलियम्सले इन्स्टाग्राममा अब काउन्टडाउन सुरु भएको उल्लेख गरेकी छिन् । ४० वर्षीया सेरेनाले लेखेकी छिन्, ‘म आगामी केही हप्ता रमाइलो गर्नेछु ।’ यसअघि चोटका कारण लामो समय टेनिस जगतबाट टाढा रहेकी सेरेना विलियम्स जुनमा भएको विम्बल्डन प्रतियोगिताबाट फर्किएकी थिइन् । लामो समयदेखि टेनिस खेल्न नसकेका कारण उनको सन्यासको अड्कलबाजी चलिरहेको थियो ।
सेरेना विलियम्सले ओपन युगमा कुनै पनि महिला खेलाडीले भन्दा धेरै सिंगल्स ग्रान्डस्लाम जितेकी छन् । यद्यपि, सेरेनाले जितेको २३ ग्रान्डस्लाम मार्गरेट कोर्टको २४ ग्रान्डस्लाम भन्दा कम हो । कोर्ट भने प्रि–ओपन युगकी खेलाडी थिइन्। उनले लेखिन्, ‘दुर्भाग्यवश म यस वर्ष विम्बल्डन जित्न तयार थिइनँ । र मलाई यो पनि थाहा छैन कि म न्यूयोर्कमा जित्न तयार हुनेछु। तर म प्रयास गर्न जानेछु।’