क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि पथरी शनिश्चरे नगरपालिका भवन निर्माण पहल समिति किर्तिपुरले अन्तरक्रिया तथ पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
आइतबार किर्तिपुर बजारमा एक भव्य अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै वडा नं ४, ५, ६ र ७ को संगम स्थलमा १ विगाह १० कठ्ठा क्षेत्रफलमा निःशुल्क जग्गा उपलब्ध गराउने उक्त समितिले जानकारी दिएको हो ।
सो भवन निर्माणका लागि पहल समितिमार्फत् वडा नं ७ का श्रीप्रसाद ढुंगानाले–१७ कठ्ठा, कुमार लिम्बुको परिवारबाट ५ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन् भने २ कठ्ठाका दरले निःशुल्क जग्गा उपलब्ध गराउने क्रमशः सोही वडाका उमेश जंग थापा, तिलविक्रम दर्लामी, प्रेमबहादुर धिमाल, तेजबहादुर बस्नेत रहेका छन् भने १÷१ कठ्ठाका दरले जग्गादान गर्नुहुने जग्गादाताहरूमा सरोज रिजाल, विकास लिम्बु, चन्द्र कुमार केसी, नरेन्द्र थापा तथा मीनकुमार धिमालले आधा कठ्ठा क्षेत्रफल जग्गा निःशुल्क प्रदान गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिकाको हालसम्म आफ्नो निजी प्रशासकीय भवन निर्माण नभएका कारण वडा नं १ मा अवस्थित पथरी बजारमा भाडामा संचालन भैरहेको छ ।
विगत ५ वर्षे कार्यकालमा पनि भवन निर्माण गर्न नसकेका कारण पथरीशनिश्चरे नगरपालिकाले आफ्नो दैनिक कार्य सम्पादन गर्न र सेवाग्राहीलाई उचित सेवा पु¥याउन समस्या भइरहेको थियो ।
यी यावत समस्याहरुलाई मध्यनजर गर्दै कीर्तिपुर बजारको पूर्वतर्फको समथर १ विगाह १० कठ्ठा नम्बरी जमिन निःशुल्क उपलब्ध गराएको हो । सो भवन निर्माणमा पहल गर्ने निर्णय गरी पहल गरिरहेको जानकारी गराइएको थियो ।
यस्तै कार्यक्रममा किर्तिपुरमा नगरपालिकाको भवन बनाउनु पर्ने आधारहरु बुँदागत रुपले उल्लेख गरिएको थियो ।
पूर्व पश्चिम राजमार्गदेखि ७ किलोमिटर दक्षिणमा अवस्थित उक्त किर्तिपुर बजार क्षेत्रमा पर्ने सो प्रस्तावित जग्गा नगरपालिकाको मध्य भागमा रहेको दावी गरिएको छ । प्रस्तावित जग्गादेखि ७ किलोमिटर पूर्वमा बक्राखोला र मौलिबारी रहेको छ भने पश्चिममा डाँसखोला, झोलुङ्गे पुल ७ कि.मि छ । यसैगरी उत्तरमा पथरी हाइवे ७ कि.मि., दक्षिणमा अमरदह ७ कि.मि.रहेको उल्लेख छ ।
संघीयता र विकेन्द्रिकरणको सिद्धान्त अनुरुप पछि परेको क्षेत्र र स्थानको विकास, उन्नति र समृद्धिको लक्ष्य राखिएको उक्त पहल समितिले चौतर्फी कालेपत्रे बाटो रहेको जनाएको छ । प्रस्ताव गरिएको उक्त जग्गा उत्तर–दक्षिण बुद्धमार्ग र पूर्व–पश्चिम ३३ फुटे कालेपत्रे सडक प्रदेश सरकारले निर्माण गरिएको छ । पथरीशनिश्चरेको मध्यभाग समेटेको र आवागमन सहज र सुलभ रहेको दावी सहित भवनको निर्माण पहल गरिरहेको पहल समितिका संयोजक उमानाथ अधिकारीले जानकारी गराउनुभयो ।
सो अवसरमा साविक पथरी, शनिश्चरे र हसन्दह गा.वि.स. मध्ये दक्षिणमा अवस्थित हसन्दहको भू–भागलाई समेत समेट्ने दावी गरिएको छ । नगरपालिका भवन निर्माणका लागि आवश्यक हुने १ विगाह १० कठ्ठा नम्बरी र विवाद रहित जमिन अहिले निःशुल्क उपलब्ध गराइने र आवश्यक परेमा थप जमिन उपलब्ध गराउन सकिने पहल समितिका संयोजक अधिकारीले बताउनुभयो ।
पहल समितिकिा सचिव विरोज मगरले सञ्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष बिजय लिम्बु, वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं –५ का चेतन खड्का, वडा नं ६ का कृष्ण बस्नेत, वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा नं –८ का वडाध्यक्ष नवीनजंग कार्की सहितले आ–आफ्नो धारणा राख्नुभएको थियो । धारणामा नगरभरिको पायक पर्ने ठाउँ किर्तिपुर नै रहेको बताइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका भवन निर्माण पहल समिति किर्तिपुरद्वारा किर्तिपुरमा नगरपालिकाको भवन बनाउनुपर्ने आधारहरु बुदागत रुपमा यसरी उल्लेख गरेको छ :–
१. नगरको मध्यभागमा रहेकोले सबैलाई पायक पर्ने उपर्युक्त स्थान किर्तिपुर हो । (पूर्वमा बक्रा खोला पूर्व मौलिबारी ७ कि.मि., पश्चिममा डाँसखोला, झोलुङ्गे पुल ७ कि.मि., उत्तरमा पथरी हाइवे ७ कि.मि., दक्षिणमा अमरदह ७ कि.मि.)
२. संघीयता र विकेन्द्रिकरणको सिद्धान्त अनुरुप पछि परेको क्षेत्र र स्थानको विकास, उन्नति र समृद्धिको लक्ष्य कार्यान्वयन हुने ।
३. चौतर्फी कालेपत्रे बाटो रहेको जसमा उत्तर–दक्षिण बुद्धमार्ग र पूर्व–पश्चिम ३३ फुटे कालेपत्रे प्रदेशमार्गले पथरीशनिश्चरेको मध्यभाग समेटेको र आवागमन सहज र सुलभ रहेको ।
४. साविक पथरी, शनिश्चरे र हसन्दह गा.वि.स. मध्ये दक्षिणमा अवस्थित हसन्दहको भूभागलाई समेत समेटिएको क्षेत्र ।
५. नगरपालिका भवन निर्माणका लागि आवश्यक हुने १ विगाह १० कठ्ठा नम्बरी र विवादरहित जमिन अहिले निःशुल्क उपलब्ध गराइने र थप जमिन आवश्यक परेमा उपलब्ध गराउन सकिने ।
६. वडा नं. ४, ५, ६ र ७ को सिमानामा रहेको संगम स्थल ।