न्याय खोज्दा खोज्दै हैरानी - Crazysaptahik.com

न्याय खोज्दा खोज्दै हैरानी

क्रेजी संवाददाता
कानेपोखरी । काँधमा र हातमा झोला बोकेर न्याय खाज्न हिडेकी ६० वर्षीया बाल ब्रह्मचारी पल्पना गुरुङका धेरै झोला फाटे, जुत्ता, चप्पल धेरै खिए ।

न त उनले न्याय पाएकी छिन् । न उनको जग्गा खानेहरू सम्पर्कमा आएका छन् ।
मोरङको कानेपोखरी –५ की पल्पना ६ वर्ष देखि आफूलाई ठगि गरी जग्गा राजिनामा पास गरी लिने धरान १६ का भूपेन्द्र लिम्बूको खोजिमा छिन् ।

साउँ अक्षर मात्रै चिन्ने वालब्रह्मचारी पल्पनाले केरौन १(ख) को कित्ता नं.८९७ को ४ कट्ठा १६ धुर जग्गा धितो पास गरी दिने सर्तमा २ लाख ५० हजार रुपियाँ लिने घरायसी कागज भएको थियो । तर,लिम्बूले गुरुङलाई झुक्याएर जग्गा राजिनामा पास गरी लिएको पल्लना बताउँछिन् । गुरुङले भनिन्– एकै रुपियाँ दिएन ।

जग्गा पनि राजिनामा पास गरेर लियो । म राम्रो सँग पढ्न नजान्ने महिला जहाँ जहाँ सही छाप गर भने त्यहीँ गरिदिएँ । साता नबित्दै धितो पास नभई राजिनामा पास भएको थाहा पाएपछि मालपोतको निर्णय उल्टाउन हिडेकी पल्पनाले अहिले सम्म जग्गा फर्काउन सकेकी छैनन् । जग्गा लानेहरू उम्केको उम्कैछन् ।

वि.सं. २०७३ साल असार १३ गते राजिनामा पास गरेको उक्त जग्गा फिर्ता ल्याउन पल्पनासँग धेरै वटा घरायसी कागज छन् । तर, उनी ६ वर्ष देखि अदालत धाई रहेकी छिन् । यता भूपेन्द्रले उक्त जग्गा फिर्ता गरिदिन २०७६ सालमा असार ५ गते काठमाडौं जिल्ला अदालतका न्यायधीसको रोहवरमा धनकुटाका अतिककुमार रसाइलीलाई बारेसनामा दिए । जसले जग्गा खायो उही ब्यक्तिले न्यायलयलाई पनि ढाँटेको पल्पनाको भनाई छ ।

काठमाडौं जिल्ला अदालतमा भएको कागज अनुसार पल्पनाले अतिककुमार रसाइलीलाई पछ्याउन थालिन । सुरुमा जग्गा फर्काउने बताउँदै आएका अतिक मात्र होइन । भूपेन्द्र पनि यतिबेला सम्पर्क बिहीन छन् । पल्पनाले भनिन –अहिले मेरो जग्गा भूपेन्द्रले अर्कैलाई बेचिसकेको भन्ने सुनेको छु ।

कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले पनि उक्त जग्गा भूपेन्द्रले अर्कै ब्यक्तिलाई बिक्री गरेको हुनसक्ने बताए ।

वालब्रह्मचारी महिलालाई जीवन निर्वाहका लागि दाजुभाइले दिएको जग्गा ठगले खाइदिएपछि उनी यति बेला घर न घाटको भएकी छिन् । ब्रह्मचारी भएकोले वकिलले पैसा नलिई मुद्धा लडिदिएका छन् । तर, पनि कहिले काठमाडौं, कहिले विराटनगर गर्दा गर्दै उनी थाकिसकेकी छिन् ।

मुद्दा गर्न सहयोग गर्ने आफन्त समेत कोही छैनन् , उनले भनिन – जेठा दाजु भारत बस्नुहुन्छ । कान्छा दाजु काठमाडौं । उहाँहरू आफै वृद्ध भइ सक्नुभयो ,मलाई कसरी सहयोग गर्नुहुन्छ ? फेरि आर्थिक रुपमा कमजोर भएपछि कसैले साथ नदिँदो रहेछ , उनले गहभरि आँशु पारेर भनिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.