
क्रेजी समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले सार्वजानिक विद्यालयको शैक्षिक स्तर उकास्नको लागि ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने भएको छ ।
शुक्रबार वडा अध्यक्ष नवीन कार्कीको अध्यक्षमा वडा कार्यालयमा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा, झमकबहादुर लिम्बु, वडा सचिव तारानिधि सापकोटा र प्राविधिक इन्द्र पराजुली सहितको उपस्थितिमा बसेको बैठकले निर्वाचन जितेपछि जनप्रतिनिधिहरू गाउँ नफर्कने गुनासो जनताहरुलाई गर्न नदिन र नियमित भेटघाट गर्न प्रत्येक महिनाको अन्तिम शनिबार जनताको घरमा गएर दुःख र सुख बुझ्ने, गुनासो सुन्ने भनेर जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरुवात गर्ने लगायतको निर्णय गरेको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।
बैठकले जनतालाई प्रत्यक्ष फाइदा हुने निम्न प्रस्तावहरु समेत निर्णयहरू यस प्रकार रहेको छ :–
१. वडा नम्बर ८ मा प्रत्येक महिनाको अन्तिम शनिबार पारेर घरदैलो अभियान ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम आयोजना गर्ने,
२. वडा दशैंमा वडाका अति विपन्न नागरिकहरुलाई बायोमास चुलो वितरण गर्ने,
३. सार्वजनिक विद्यालयहरुमा शिक्षा सुधारको लागि पहिलो र अन्तिम घन्टीमा अनिवार्य विद्यार्थीहरुको हाजिर गर्ने पहिलो घन्टीमा उपस्थित विद्यार्थी अन्तिम घन्टीमा बिना जानकारी अनुपस्थित रहेमा विद्यालय प्रशासनले अनिवार्य अभिभावकलाई जानकारी गराउन र नियमित विद्यालय नआउने विद्यार्थीहरुका अभिभावकलाई समेत सचेत गराउने उद्देश्यले ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने ,
४. सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाइ शिक्षकको नियमित उपस्थिति र विद्यालय समयभर विद्यालयमा अनिवार्य बस्ने वातावरण तयारी गर्न वडाबाट बिनियोजित बजेटले ‘डिजिटल हाजिरी मेसिन’ जडान गर्ने र सो मेसिन मार्फत् १० बजे र ४ बजे अनिवार्य हाजिर गर्नुपर्ने,
५. वडा स्तरीय विपत व्यवस्थापन समिति गठन गर्ने,
६. वडाभित्रका बाटोमा भएका खाल्डाखुल्डी पुरी मर्मत सम्भार गर्ने,
७. कात्तिक १५ गते भित्रमा चालू आर्थिक वर्षको पूर्वाधार र सामाजिक विकास अन्तर्गत विनियोजित बजेट संचालनका लागि वडा सदस्य ज्युहरुको उपस्थितिमा सबै उपभोक्ता समितिहरु गठन गरिसक्ने,
८. टोल स्तरमै सरकार भएको अनुभूती गर्न र जनता सँगको सहकार्यमा काम गर्न वडाभित्र ५ वटा टोल सुधार समिति गठन गर्ने निर्णय गरिएको छ ।

