धान किन्दा तौल कम देखाएर ठगि गरेको कृषकको आरोप - Crazysaptahik.com

धान किन्दा तौल कम देखाएर ठगि गरेको कृषकको आरोप


क्रेजी साप्ताहिक
पथरी । मोरङको रंगेलीका धान ब्यापारिहरुले तौल कम देखाएर कृषकहरुमाथी ठगी गर्ने गरेको आरोप लागेको छ । कृषकहरुले आफूबाट खरिद गरेको धानमा तौल कम देखाएर ठगि गर्ने गरेको आरोप लगाएका हुन् । रंगेली नगरपालिका– ५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान बिक्री गर्दा स्थानीय धानको खरिद बिक्री गर्ने व्यापारी नन्दलाल मण्डलबाट ठगिएको आरोप लगाए ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले ‘काँटा’ (गल्ला) बाट धानको कारोबार गर्ने व्यापारीहरूले तौलमा ठगि गर्ने गरेको बताए । २ विघा १४ कट्ठा क्षेत्रफलमा धान खेती गर्दै आएका सुरेन्द्रले यस वर्षको धान राम्रो उत्पादन हुने अपेक्षा राखेको र त्यही अनुरुप उत्पादन भए पनि आफू ठगिएको बताए ।‘अपेक्षा अनुसार धान पनि राम्रै उत्पादन भयो,’ उनले भने, ‘खेति गर्दाको ऋण तिर्न धान बिक्री गर्नै पर्छ ।’ मण्डललाई चैते धान लगाउन करिब ५० हजार ऋण लागेको थियो । उनले ऋण तिर्न र परिवार पाल्न उत्पादन भएको धान स्थानीय व्यापारी नन्दलाललाई प्रतिमन छ सय ३० रुपैयाँ र चिउरा बनाउने बजरङगी धान तीन सय ४० रुपैयाँ प्रतिमन बिक्री गरेको बताए । उनले पसलमा राखेको तौल गरिने मेसिनमा व्यापारीले ठगि गरिरहेकोले धर्मकाँटामा तौल गर्ने सर्तमा बिक्री गरेका थिए । उनले घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरंगी प्रजातिको करिब ४० केजी तौल भएको तीन सय १४ बोरा धान तौल नगरी बोरामा भरेर व्यापारीलाई दिएको सुनाए ।‘आँगनमा तीन सय १४ वटा बोरामा भरेको धान ना ३ ख ५२५९ नम्म्बरको ट्रकमा व्यापारी नन्दलाले लोड गरेर गएका थिए,’ उनले भने, ‘दुबै पक्षको उपस्थितिमा भोलि बिहान धर्मकाँटामा तौल गर्ने सर्त गरेर नन्दलालले ट्रक लिएर गएका हुन् ।’ तर भोलिपल्ट व्यापारी नन्दलालले धर्मकाँटामा तौल गरेको बील लिएर आएको उनले सुनाए ।

‘मैले तीन सय ४० मन जति धान हुने अनुमान गरेको तर नन्दलालले तीन सय १४ मन मात्रै तौल आएको बताए,’ उनले भने, ‘धर्मकाँटाको बीलमा आपूmले अनुमान गरे अनुसारै तौल उल्लेख भए पनि नन्दलालले २१ मन ३० किलो धान बाटोमा पनि ट्रकमा लोड गरेको भनेर ठग्न खोज्दै छन् ।’ २१ मन ३० किलो कम देखाएर धानको पैसा हिनामिना गरेकोे सुरेन्द्रकुमारले बताए । यता धान खरिद गर्ने व्यापारी नन्दलालले भने आफूले खरिद गरेको धानमा कुनै पनि किसानलाई नठगेको दाबी गरे । बिक्री गर्ने कृषकको सामुनै धानको तौल लिइने भएकाले विभिन्न प्रकारको आरोप लगाएर आफूलाई बद्नाम गराउने प्रयास भइरहेको उनको भनाइ छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.