विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर १९२ रन बनायो ।
पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ रन बनाउँदा सुनिल धमलाले ३६ रनको योगदान गरे । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए । त्यस्तै दुर्गेश गुप्ता र मुहमद हुसेनले एक\एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै विशाल बिक्रम केसीले ३० रन बनाउँदा प्रज्वल थापाले २३ रन बनाए ।
पुलिसका दीपेन्द्र सिंह ऐरीले चार विकेट लिए । त्यस्तै सागर ढकाल र करण केसीले दुई÷दुई विकेट लिए । जितसँगै पुलिसले तीन खेलमा ६ अंक जोडेको छ । पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा छ । लुम्बिनी दुई खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।