क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारी २ पुरानो मंगलबारेकी सीता तोलाङ्गीलाई घर हस्तान्तरण गरिएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले एक कार्यक्रमकाबीच शुक्रबार नवनिर्मित घर हस्तान्तरण गर्नुभयो ।
प्रमुख खरेलले रु ५१ हजारसहित स्थानीयको थप आर्थिक सहयोगमा दुई लाख ८८ हजार रुपैयाँको लागतमा घर निर्माण सम्पन्न भएको हो । एकल महिलाका रुपमा रहदै आएकी तोलाङ्गी बनिबुतो गरेर जीवन निर्वाह गर्दै आएकी छन् । उनका दुईजना छोरा रहेपनि दुबैजना शारिरीक रुपमै अशक्त छन् ।
अत्यन्तै दयनीय अवस्थामा पानी चुहिने झुप्रो घरमा बस्दै आएको पाइएपछि दाताहरुसंग सहयोग संकलन गरी तोलाङ्गी परिवारलाई घर बनाइदिएको घर निर्माण समितिका संयोजक इन्द्र दाहालले बताउनुभयो । विपन्न अवस्थाकी सीता तोलाङ्गी नयाँ घर उपलब्ध भएपछि दङ्ग बनेकी छिन् । ‘आफ्नै जीवनकालमा पक्की घरमा बस्न पाइन्छ भनेर सोचेका पनि थिएनौँ,’ उनले भनिन् ।
टिन छानो भएको भुइँतला पक्कि घर उनलाई उपलब्ध गराइएको छ । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल, २ नम्बर वडाका वडाध्यक्ष राजन कडेल, एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, समाजसेवी अग्नि भट्टराई, सचिन शाक्यलगायतको उपस्थिति रहेको थियो ।