‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो ।
तयारीसँगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् ।
गत वर्ष ४ लाख रहेको पुरस्कार राशि यो वर्ष १ लाख बढाइएको छ । त्यसै गरी म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म सबै पुरस्कार राशि बढाइएको छ ।
अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्रो र सान्त्वनातर्फ क्रमशः नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिला, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
त्यसैगरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार गरिएको छ ।
म्याराथन अन्तर्गतनै हुने १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमशः प्रथम हुनेले नगद ३, द्वितिय हुनेले नगद २० र तृतियले १५ हजार प्राप्त गर्नेछन् । कार्यक्रमअन्तर्गत नै विद्यालयस्तरिय छात्र\छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशि बढाइएको मञ्चले जनाएको छ ।
गत केही सँस्करणमा कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरु एकै पटक एकै समय फागुन ६ गते शनिवारनै हुने अध्यक्ष पराजुलीले बताए ।