भारतले न्युजिल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिज जितेको छ । मंगलबार वर्षाको कारण तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल डीएल पद्धतिको आधारमा ‘टाई’ भएसँगै भारतले तीन खेलको सिरिज १–० ले सिरिज जितेको हो ।
घरेलु टोली न्युजिल्यान्डले दिएको १६१ रनको लक्ष्यसहित भारतले ब्याटिङ गरिरहँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारतले ९ ओभरमा ७६ रनको नयाँ लक्ष्य पायो । भारतले यस लक्ष्य पछ्याउने क्रममा ९ ओभरमा ७५ रन बनायो र खेल ‘टाई’ भयो ।
भारतका लागि कप्तान हार्दिक पाण्ड्याले ३० रन बनाउँदा सुर्यकुमार यादवले १३ रन बनाए । घरेलु टोलीका लागि कप्तान टिम साउदीले २ तथा एडम मिल्न र ईस सोधीले समान १÷१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स तथा डेभन कन्वेले अर्धशतकीय पारी खेलेका थिए ।
कन्वेले ५९ रन बनाउँदा फिलिप्सले ५४ रन बनाए । भारतका लागि मोहम्मद सिराज र अर्शदिप सिंहले समान ४÷४ तथा हर्षल पटेलले १ विकेट लिए ।