यु–१९ राष्ट्रिय क्रिकेट : वागमती प्रदेशको विजयी सुरुवात - Crazysaptahik.com

यु–१९ राष्ट्रिय क्रिकेट : वागमती प्रदेशको विजयी सुरुवात

गण्डकी प्रदेशमाथि ७४ रनको जित निकाल्दै वागमती प्रदेशले बुधवारबाट शुरु भएको यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि अर्जुन कुमालले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । अर्जुनले १ सय १९ बलमा ९ चौका र १ छक्काको सहयोगमा ९८ रनको पारी खेलेका थिए । सिब्रिन श्रेष्ठले २१ रन जोड्दा कप्तान सुवास भण्डारी, गोविन्द विक र करण पंगेनीले समान १३÷१३ रनको योगदान गरेका थिए ।

बलिङमा वागमती प्रदेशले ३६ रन अतिरिक्त स्वरुप खर्चिएको थियो । वागमतीका लागि अशोक पौडेलले ३ तथा ओमकार यादव, प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान २÷२ विकेट निकाल्दा अभिशेख कोईरालाको नाममा एक विकेट रह्यो ।त्यसअघि टस हारेरपछि पहिले ब्याटिङको निम्तोपाएको वागमतीले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो ।

वागमतीका लागि योगेश भाट र उत्तम मगरले अर्धशतकीय पारी खेले । उत्तमले ७० बलमा ८७ रन बनाउँदा १० चौका र ३ छक्का प्रहार गरेका थिए । योगेशले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाएका थिए ।

ओमकार यादवले ३७ रन जोड्दा अभिशेख कोईरालाले ३२ रनको योगदान गरेका थिए । अर्थव पौड्यालले २१ रन तथा सक्षम बस्ताकोटीले १८ रनको योगदान गरेका थिए । गण्डकीका लागि निर्तिस गिरी र सुदीप अर्यालले समान ३÷३ विकेट लिएका थिए ।

सिब्रिन श्रेष्ठ,अर्जुन कुमाल र कप्तान सुवास भण्डारीको नाममा समान १÷१ विकेट रह्यो । जितसँगै वागमतीले २ अंक जोडेको छ भने गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन् । कीर्तिपुरमा हुने खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशको सामना गर्दा मूलपानी मैदानमा गण्डकी र प्रदेश नम्बर १ बीच खेल हुनेछ । मंसिर १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछ ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०\१० हजार पाउने छन् ।

सम्बन्धित खवर