तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर न्युजिल्याण्डले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कप्तान तथा ओपनर शिखर धवनको ७२ रन, शुभमन गिलको ५० रन र श्रेयस अय्यर ८० रनको अर्धशतकीय इनिङ्समा भारतीय टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०६ रन बनाएको थियो ।
त्यस्तै टिम साउथी र लोकी फर्गुसनले ३र३ विकेट लिए । यस खेलबाट उमरान मलिक र अर्शदीप सिंहले भारतीय टोलीका लागि एकदिवसीय डेब्यू गरेका थिए। लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ८८ रनमा तीन विकेट गुमाएको थियो ।
यसपछि कप्तान केन विलियम्सन र टम लाथमको जोडी पिचमा रहे र ४८ औं ओभरको पहिलो बलमा अन्तिमसम्म आउट नभई टोलीलाई जित दिलाए । दुवैले चौथो विकेटका लागि २२१ रनको अविजित साझेदारी खेले।
कप्तान केन विलियम्सनले अविजित ९४ रन बनाए भने लाथमले अविजित १४५ रन बनाए । यो जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।