प्लेयर टू वाच :फिल फोडेन, इंग्ल्याण्ड - Crazysaptahik.com

प्लेयर टू वाच :फिल फोडेन, इंग्ल्याण्ड

‘मैले अहिलेसम्म देखेको सबैभन्दा दक्ष खेलाडी’ पेप ग्वार्डिओलाले फोडेनको तारिफ गर्दै भनेका शब्द हुन् यी । अहिले उनले क्लब र देशको लागि मुख्य खेलाडीका रुपमा आफूलाई स्थापित गरेका छन् ।

पाँच वर्षअघि भारतमा इंग्ल्याण्डले फिफा यू–१७ विश्वकपको उपाधि उचाल्दा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । अहिले विश्वकपको उपाधि उचाल्ने लक्ष्यसहित कतार पुगेको इंग्ल्याण्डको सिनियर टोलीमा फोडेनले सीप, दूरदृष्टि र रचनात्मकता प्रदान गर्दछन् ।

‘हामीले उनलाई १५–१६ वर्षको उमेरदेखि चिनेका हौँ,’ इंग्ल्याण्डका प्रशिक्षक गेराथ साउथगेटले म्यानचेस्टर सिटीका स्टार खेलाडीबारे भनेका छन्, ‘उनी विशेष खेलाडी हुन्, त्यसमा कुनै शंका नै छैन ।’

सन् २०२० मा इंग्ल्याण्डका लागि डेब्यू गरेका उनले १९ खेलमा २ गोल गरेका छन् । उता आफ्नो क्लब सिटीका लागि उनले १११ खेल खेल्दै ३१ गोल गरिसकेका छन् । यस विश्वकपमा इरानलाई ६–२ को गोलअन्तरले हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको इंग्ल्याण्ड दोस्रो खेलमा भने अमेरिकासँग निरश बराबरीमा रोकिएको थियो ।

समूह बीको अन्तिम खेलमा वेल्सविरुद्ध हारबाट जोगिए इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश गर्नेछ । जीत हासिल गरे टोली समूहको शीर्ष स्थानमा रहनेछ । हारे पनि टोलीको अर्को चरणमा प्रवेश गर्ने सम्भावना बाँकी नै रहन्छ तर त्यसका लागि अन्य खेलको नतिजामा भर पर्नुपर्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.