
- सन्तोष राई
चर्काे म्युजिक, निक्कै सकपूर्ण तरिकाले टिकट लिएर प्रवेश गेटमा खचाखच मान्छेको भिड, मौसम चिसो भएनि गर्मीको आभाष हुन्थ्यो उपस्थित क्राउडले । यस्तो वातावरण थियो बुधबार बेलुका– पथरीशनिश्चरे मिनी महोत्सव २०७९ को ।
अघिल्लो दिनदेखि नै चर्चित गायक राजेश पायल राई प्रस्तुतिको लागि आउने सूचना पाएका पथरीवासी ७ः३० बजेदेखि नै महोत्सव प्रवेश गर्न थालिसकेका थिए ।
महोत्सवमा ९ः१५ बजे जब स्टेजमा उद्घोषकले ‘अबको पालो गायक राजेश पायल राई’ भन्ने बित्तिकै उपस्थित दर्शकहरुबाट चिच्याहट र तालीको पर्रा छुटेको थिए । गायक राईले स्टेज पछाडिबाट ‘यो यो आई लभ यु पथरी’ भनेर दर्शकहरुलाई सम्बोधन गर्दा पथरी रंगशालामा उपस्थित दर्शकहरुले पनि ‘यो यो’ भन्दा कार्यक्रम स्थल नै गुन्जयमान बनेको थियो ।

‘मैले मायाले दिएको चिनो…’ बोलको सेन्टी सङबाट राईले आफ्नो प्रस्तुतिका साथ धूम मच्चाउन सुरुवात गरेका थिए । त्यसपछि ‘दर्शन नमस्ते..’, ‘ठूली…’, ‘उकालीमा जाँदा जाँदा..’, ‘देम साह्रो…’, ‘टल टल टल्किने…’, ‘तिमी ज्यान माग …’ लगायत आफ्ना चल्तीको गीतहरुलाई रिमिक्स भर्सनमा प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

डेढ घन्टा नन्स्टप सांगीतिक प्रस्तुति दिएका राजेश पायल राई एक जना वृद्धा फेन देखेर भावुक पनि बने । उनले भने ‘तपाई आमाहरु हुनुहुन्छ र त हामी छोराहरु छौं ।’ उनले वृद्धा आमाको हात समाएर ढोगे अनि भने ‘आज ममीको याद आयो, मिस यु ममी ।’ प्रस्तुति सकेर पनि राईसँग फेनहरु सेल्फी खिच्न लामवद्ध भीड नै लागेको थियो ।
भिडियो हेर्नुहोस् :-

