
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ शान्ति चौकस्थित ग्रेट ग्रेस इंग्लिस एकेडेमीले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ ।

आज विद्यालय हातामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण) रहनुभएको थियो । उहाँले पुरस्कार वितरण तथा सम्मान पश्चात् सम्वोधनका क्रममा ग्रेट ग्रेसले हालसम्म गरिरहेको प्रगतिको बेलिविस्तार लगाउनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले भन्नुभयो–‘यस विद्यालयले अध्ययनका अलवा अतिरिक्त क्रियाकलापमा निक्कै प्रगति गरिरहेको छ । मैले भन्न मिल्छ या मिल्दैन तर भन्छु हाम्रो नगरपालिकामा निक्कै गनिएका विद्यालयहरुलाई ग्रेस ग्रेस एकेडेमीले सँगसँगै प्रतिस्पर्धा गरिरहेको मैले आभाष गरेको छु ।’

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल, रेडस्टार माविका निर्देशक एवं प्रिन्सिपल टि.एन. तिम्सिना, वि.व्य.स.सचिव अशोक श्रेष्ठ, नरबहादुर कुलुङ, लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्य ‘माही माही..’ प्रस्तुत गर्दा उपस्थित अभिभावक, विद्यार्थी र अतिथिहरूबाट तालीको पर्रा नै फुटेको थियो । यस्तै शिक्षिकाहरुको ‘मैना चरी…’ नृत्य, विद्यार्थीहरुको सामुहिक गायन ‘फूलको आँखामा….’, साना नानी बाबुहरुको ¥याम्स, नाटक ‘अपूर्ण सपना’, तेक्वान्दो प्रदर्शन, चित्रकला प्रदर्शनी लगायतको प्रस्तुतिले उपस्थित अभिभावकहरु निक्कै प्रफुल्लित देखिन्थे ।
विद्यालयले स्थापनाका संस्थापक स्व. टिकाराम श्रेष्ठको स्मृतिमा विद्यालयले स्थापना गरेको टिकाराम श्रेष्ठ स्मृति अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता २०८१ को पुरस्कार पनि वितरण गरिएको थियो । यस्तै अभिभावकहरु माझ गराइएको खेलका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

गत फागुन ११ गते आयोजना गरिएको सो सुन्दर हस्तलेखन प्रतियोगितामा प्रथम हुने रेडस्टार माविका पज्वल थापा, ग्रेसग्रेसका हाङजोङ श्रेष्ठ, सिंहबाहिनी माविका यसोदा श्रेष्ठ लगायत सान्तवना पुरस्कार कार्यक्रमका विशिष्ट अतिथि नवीन खुलालले वितरण गर्नुभयो ।
विद्यालयका संस्थापक एवं प्रिन्सिपल गीता श्रेष्ठको सभाध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यपक सागर श्रेष्ठले गर्नुभएको थियो । वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम समापन गर्दै सभाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै भावी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछु।’
ग्रेट ग्रेस इंग्लिस एकाडेमीले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । अहिलेसम्म यस विद्यालयका विद्यार्थीहरुले अध्ययनका अलवा अतिरिक्त क्रियाकलापहरुमा नगर र जिल्ला स्तरीय स्तरमा उपाधिहरु जित्दै आइरहेको छ ।


